चितवनका हुने खानेको चर्तिकला

चितवनका हुने खानेको चर्तिकला

आफ्नो ठाउँको अविभावक बनेर सबैलाई समान र न्यायोचित काम गर्नुपर्नेमा भरतपुर–३ का वडाअध्यक्ष चन्द्रमित्र पण्डितले केही पहुँचवाला धनीहरुसँग मिलेर अनुचित तथा अन्यायपूर्ण गतिविधि गरिरहेको बताइन्छ । पुलचोक–रामघाट (रिंगरोड) निर्माणमा पुल्चोकतिरका जग्गाधनीहरुले गर्न खोजेको तिक्डममा वडाअध्यक्ष पण्डितले आँखा चिम्लेर साथ दिइरहेको बुझिन्छ ।

३० मीटर चौडा भनेर पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट उद्घाटन गरिएको सडक १२ मीटरमा झरेको छ । त्यसमा पनि मुखमा अझ साँघुरो बनाउने गरी जालझेल भइरहेको छ । साँधका जग्गाधनीहरुले बाटोका लागि एक एक मीटर जग्गा छोड्ने सहमति भए पनि पुल्चोकका केही कहलिएका धनीहरुबाटै नछाड्ने तवरले दाउपेच भइरहेको बताइएको छ ।

पुल्चोकबाट नगरवनतर्फ जाँदा यो बाटोको मुखैमा बायाँतर्फ गुणचन्द्र बिष्ट (स्वामी) को जग्गा छ, हाइवेसँग जोडिएको । दायाँतर्फ दिनेशकुमार चुकेलगायतको पर्छ । दाहिनेतिर अलिकति तलसम्ममात्रै हो व्यक्तिगत जग्गा । अरु सबै नारायणी किनारको सार्वजनिक जग्गा पर्छ । त्यसैले तलतिर बायाँका जग्गाधनीहरुले एक एक मीटर छाडेर बाटोमा नपुग जग्गा दायाँतिर नारायणी किनारबाट हाल्न कुनै समस्या भएन,नापेर डोजरसमेत लगाइसकिएको छ । तर वडा प्रहरी कार्यालयभन्दा माथि नापजाँच नै भएको छैन ।

भयो के भने वडा प्रहरी कार्यालयनिरको बाटो अहिले आठ मीटरको छ । त्यस्तै पुल्चोकको मुखमा पनि आठ मीटर नै भएको भन्दै दिनेश चुकेहरुले त्यहाँ १० मीटरमात्र फराकिलो बनाउन खोज्दैछन् । दिनेश चुके उक्त सडकको संयोजक पनि हुन् । त्यसैले माथि मुखतिर नापजाँच गर्नसमेत आनाकानी गरिएको स्रोतले जनायो । तर वडा प्रहरीतिर आठ मीटरको भए पनि पुल्चोकको मुखमा सवा १० मीटरको बाटो रहेको नक्सामा प्रष्ट देखिन्छ ।

चोकमा प्राविधिक हिसाबले पनि बाटो चौडा भएकै राम्रो हुन्छ । दुर्घटनाको जोखिम पनि कम हुन्छ । त्यसैले नक्साबमोजिम नापजाँच गरी बाटो छुट्याउनुपर्ने र दायाँबायाँ बढी भएको जग्गा पनि बाटोमा राख्नुपर्ने बताउँदै स्थानीय बुध्दिजीवी भन्छन्, ‘यहीँ नजिक न्यूरोडको बाटो बनाउँदा पुल्चोकको मुखमै साँघुरो बनाइएकाले न्यूरोड अहिलेसम्म अँध्यारोमै छ,जुन हिसाबले विकास हुनुपर्थ्यो,त्यसरी हुन सकेको छैन ।’

बताइएअनुसार यहाँ गुणचन्द्र बिष्ट (स्वामी) को जग्गा हाइवेतर्फ ७२ दशमलव ५ फीट हो नक्साबमोजिम । त्यसमा थप पाँच मीटरजति सार्वजनिक जग्गा उनको जग्गाले पहिल्यैदेखि ओगटेर राखेको जानकार स्रोतको दाबी छ । त्यही ओगटिएको बढी जग्गा फुत्किन नदिन उनले अहिले त्यहाँ नक्सा पास नै नगरी रातारात टहरा बनाउँदैछन् । टहरा बनाउँदा हाइवेतर्फ र रिंगरोडतर्फ पनि पछिल्लो मापदण्डअनुसारको सेटब्याकसमेत उनले नछोडेको स्रोतले बतायो । रिंगरोडतिर बाटोलाई छाड्ने भनिएको सहमतिको एक मीटर पनि नछाड्ने हिसाबले टहरा ठड्याइँदै गरेको बताइन्छ ।

स्थानीय भन्छन्, ‘स्वामीले निर्माण गरिरहेको टहरा वडाअध्यक्षले देख्यानदेख्यै गरी हिँड्ने गरेका छन् । नक्सापास नगरी उनले टहरा बनाइरहेको सम्बन्धमा स्थानीयले नै जानकारी गराउँदा वडाअध्यक्ष पण्डितले ‘कसैले उजुरबाजुर गरेको छैन, मैले के गर्ने ?’ भन्ने किसिमको गैरजिम्मेवार जवाफ दिने गरेका छन् । बाटो फराकिलो बनाउने, सार्वजनिक जमिन जोगाउने दायित्व वडाअध्यक्षको होइन ?’ स्थानीयहरुको प्रश्न छ, ‘वडाअध्यक्ष कायर हुन् कि बिकेका ?’

यस विषयमा वडाअध्यक्षलाई नै सोध्दा स्वामीको उक्त टहराको नक्सा पास भएको, नभएकोबारे आफूलाई थाहा नभएको र वडालाई थाहा पनि नहुने बताए । भरतपुर महानगरपालिकाको नक्सा शाखामा गएर बुझ्दा वडा नम्बर ३ को नक्सापास दर्ता किताबमा रहेको रेकर्डमा गुणचन्द्र बिष्ट र गीता वाग्लेको नाम भेटिएन । उक्त टहरा बन्दै गरेको जमिनको केही टुक्रा बिष्टकी दिदी गीता वाग्लेको नाममासमेत रहेको जानिफकारले जानकारी दिए । स्रोत भन्छ, ‘यहाँको कित्ता नम्बर ७५३० र ७५३१ को नक्सामा भएको भन्दा बढी जग्गा र बाटोमा देखिएको सवा १० मीटर जग्गा छुट्याई रेखाङ्कन गर्नुपर्ने देखिन्छ ।’

निर्माणाधीन रिङरोडको बाटो नाप्ने सवालमा नयाँ कम्प्युटर नक्सामा त्रुटि हुनसक्ने भन्दै तलतिरका जग्गाधनीहरुले ब्लुप्रिन्ट नक्सा नै ओरिजिनल कपी भएको र त्यसकै आधारमा नापजाँच सही हुने जिकिर गर्दै आएकामा ‘कम्प्युटर नक्सालाई नै मान्यता दिनुपर्नेमा केही जग्गाधनी उपभोक्ताहरुले ब्लुप्रिन्ट देखाएर बखेडा खडा गरिरहेको’ भन्दै वडाअध्यक्ष पण्डितले भनेका थिए, ‘ब्लुप्रिन्ट नक्सालाई मानिन्न ।’

तर,कम्प्युटर प्रिन्टमा त्रुटि भयो भने आधिकारिक ब्लु प्रिन्ट नै हुने नापी कार्यालय चितवनका सर्वेक्षक नवीन अधिकारी बताउँछन् । उनी भन्छन्, ‘त्यसैले कम्प्युटर प्रिन्टको तल त्रुटि भेटेमा सक्कलबमोजिम सुधार गर्न सकिनेछ भनेर लेखिएको हुन्छ । यस्तै,नापी कार्यालयका प्रमुख गिरिशकुमारलाल कर्णले पनि कम्प्युटर प्रिन्टभन्दा ब्लुप्रिन्ट ‘मोर एक्युरेट’ हुने बताए ।

टिप्पणीहरू