भन्दै भन्दै छाउ, नकोट्याऊ न घाउ

भन्दै भन्दै छाउ, नकोट्याऊ न घाउ

सत्य युगमा विदर्भ नगरमा श्येनजित नामक राजा सुखपूर्वक राज्य गर्थे । ती ऋषितुल्य थिए । उनको राज्यमा एक जना सुमित्र नामक कृषक थिए । किसानकी पत्नीको नाम जयश्री थियो, अत्यन्त पतिव्रता । एक पटक वर्षा ऋतुमा खेतीको काममा व्यस्त रहेका बेला ती रजस्वला भइन् । उनले आफू नछुने भएको त थाहा पाइन् तर त्यसलाई वास्ता नगरी काममा खटिरहिन् । आयू पूर्ण भएपछि ती दुवै मृत्युवरण गर्न पुगे, अर्को जन्ममा रजोवती हुँदा नियम र मान्यतालाई पालना नगरेकाले जयश्रीले कुकुर्नी भएर र पर सरेकी स्त्रीको सम्पर्कमा आउनाले सुमित्रले गोरु भएर जन्मनुप¥यो। वास्तवमा ऋतुदोषबाहेक ती दुवैले केही अपराध र पापकर्म गरेका थिएनन् । उनीहरूलाई पूर्वजन्मको सबै कुराको सम्झना थियो । संयोगले ती दुवै आफ्नै छोरो सुचित्रका घरमा बस्न पुगे । सुचित्र धर्मात्मा थियो, शास्त्रीय मर्यादालाई पालना गर्नुका साथै समस्त जीवजन्तुप्रति दयाभाव राख्थ्यो । एक पटक आफ्ना पिताको श्राद्धका लागि ब्राह्मणहरूलाई भोजनमा निमन्त्रणा गरेको थियो । घरमा बूढाबूढी मात्रै थिए, श्रीमती खिर पकाएर काम विशेषले बाहिर निस्किन् । त्यही बेला सर्पले खिरमा विष खसालेर गयो । त्यो कुरा सुचित्रकी आमा जयश्रीले देखिन् जो कुकुर्नीको रूपमा ढोकामै बसेर हेरिरहेकी थिइन् । रजोदोषले आफू कुकुर्नी हुनुपरेको हुँदा अब ब्रह्महत्याको पाप छोराबुहारीलाई बोकाउन नहुने भन्दै दौडेर भान्छामा पाकेको खिर छोइदिइन् । खिर छुँदै गर्दा बुहारीले देखिन्, देख्नै पथ्र्यो, नदेखेको भए त त्यो विष परेको खिर ब्राह्मणहरूले खान्थे । खिर छोइदिएको झोंकमा बुहारीले चुलोको अगुल्टो निकालेर कुकुर्नीको ढाडमा बजाइन् । कुकुर्नी कुइँकुइँ गर्दै निकै टाढा पुगिन् । श्राद्ध सकिएपछि मात्रै फर्किइन् र आज केही खान पाइनन् ।

आफ्नै श्राद्धको दिन अर्काको खेतमा जोतिनुपरेको सुमित्र साँझ घर फर्कियो । उसले पनि आज दिनभर घाँस, पराल र पानीसमेत खान पाएको रहेनछ । साँझ गोरु (श्रीमान्) गोठमा पुगेपछि कुकुर्नी (श्रीमती) ले दिनभरिको कहानी सुनाई । त्यो कुरा घरमा रहेका सुचित्रले सुनिरहेका थिए । जो पशुवाक्य पनि बुझ्थे । कहिल्यै गोठमा नपस्ने सुचित्रले गोरु र कुकुर्र्नी (पूर्वजन्मका बा–आमा) लाई टन्न खानेकुरा दियो । श्रीमान्मा आएको परिवर्तन देखेर श्रीमतीले जिज्ञाशा राखिन् । सुचित्रले सबै कुरा बताए । उनीहरू रातभर निदाउनै सकेनन्, बा–आमालाई पशुयोनिबाट कसरी मुक्त गर्ने भनेर उपाय खोज्न बिहानै जंगल पसे । ऋषिहरूको शरणमा पुगे, ऋषिहरूले रजोदोषको कारणले यस्तो भएको र भाद्रशुक्ल पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्दा पितृले मुक्ति पाउने उपाय बताए । तिथि आएपछि त्यसै गरे र सुचित्रका बा–आमाले मुक्ति पाए ।

यो कथा सत्य युगको हो, अहिले कलियुग चलिरहेको छ । तीन वटा युग फेरिएको छ तर मनमा रजस्वलाको बेला छोइछिटो गर्दा अनिष्ट हुन्छ भन्ने डर गहिरो गरी गडिएको छ । अदृश्य डर मानिसको मनमा यसरी गढ्छ नि, हटाउनै सकिँदैन । अहिले पनि कोहीसँग नडराउने बालबालिकालाई रातको समयमा ‘भूत’ आउँछ भनेर अभिभावकहरू डर देखाउँछन् । दिउँसो ‘बुजी’को डर देखाइन्छ । बालमस्तिष्कमा यसरी गड्छ कि जति गर्दा पनि हटाउन सकिन्न । बालबालिका निकै जिज्ञासु हुन्छन्, अनेकौं प्रश्न सोध्छन्, महिनावारी के हो ? मामु किन पर बसेको ? खाना किन नबनाएको ? मन्दिर किन नगएको आदित्यादि । धेरैजसो अभिभावकले मन्दिरको कुरा आएपछि पाप र धर्मको कुरा गरेर टार्छन् । यौन, तथा प्रजननबारे आउने प्रश्नको एकमुष्ट जवाफ हो– ‘ठूलो भएपछि आफैं थाहा पाउँछस्÷पाउँछेस् ।’ यसैले हो कुरो बिग्रिएको । अहिले पनि ऋषिपञ्चमीको पूजा गरिन्छ । त्यही सत्य युगको कथा सुनाइन्छ । त्यसलाई समसामयिकतामा ढालिँदैन । विद्यालयमा यौन तथा प्रजनन शिक्षा राम्रोसँग पढाइँदैन, पुरोहितले पुरानै शैलीमा ऋषिपञ्चमीको पूजा लगाउँछन्, पुरानै पारामा कथा सुनाउँछन् ।

अहिले सडकदेखि संसदसम्म ‘छाउ’को कुरा छपक्कै छ । सुदूरपश्चिमका कतिपय जिल्लामा छाउ बस्ने घर भत्काउन थालिएको छ । छाउ गोठ बस्नेलाई राज्यले कुनै पनि सुविधा नदिने उद्घोष गरिएको छ । तर, छाउगोठ भत्काए पनि उनीहरू बस्न छाडेका छैनन्, किनकि देउताको डर छ । यसरी हेर्दा राजदण्डभन्दा ‘देव’दण्डको डर धेरै देखियो । राज्यले जे–जति गरे पनि सुदूरको मात्र होइन, काठमाडौंकै महिला महिनावारी नबार्न तयार छैनन् ।

हिन्दूत्व अर्थात् जीवन बाँच्ने एक निर्देशिका, जसको विभिन्न संस्कारले भरिएको पद्धतिले जीवनमार्ग देखाएको छ । जसले त्यो समयदेखि अहिलेसम्मका मानवीय व्यवहारमा सहजताको संस्कार बनाएको प्रस्ट छ । आजसम्म आइपुग्दा यसमा केही परिमार्जनको अति जरुरी हुन्छ । तर, समाजका बुझक्कडहरू नै त्यस्ता संस्कारलाई यो आधुनिक विश्वमा समेत जस्ताको तस्तै अनुसरण गरिरहेका छन् ।

महिलाको मासिक धर्म, पन्छिने, रजश्वला, छाउपडी र रजोधर्म हिन्दू संस्कृतिमा प्रचलित छ । निश्चय नै शास्त्रमा रजोधर्मको अवस्थामा महिला अपवित्र हुन्छन् भनिएको छ तर पाप हो भनिएको कहीँकतै पाइँदैन । स्मृति र धर्मसिन्धुमा रजोधर्म भएका दिन पूजापाठ, घरव्यवहार, शारीरिक श्रम, आध्यात्मिक संलग्नता र शारीरिक सुखभोगबाट जोगिन सल्लाह दिइएको छ । कानुन, विधि या वैज्ञानिक आधार थाहा नभए पनि त्यसबेला महिलालाई कष्ट हुन्छ भनेर आरामका लागि त्यो नकारात्मक व्यवस्था राखिएको अनुमान लगाउन सकिन्छ । त्यो बेलाको समाजमा मुख्य काम भनेको गोठ र भान्छाको मात्रै हुन्थ्यो, यी दुवै काम महिलाको जिम्मामा थियो । यी दुई कामबाट चार दिनका लागि छुट्कारा पाउनु भनेको पूर्ण आराम लिनु हो । महिनावारीको समयमा हुने पीडा कम गर्ने आरामले नै हो । तर, त्यही कुरा अपभ्रंश हुँदै लोकको व्यवहारमा आउँदा महिलाको रजस्वलालाई पूर्वजन्मको कुकर्मको पापको रूपमा अथ्र्याइयो ।

महिलाको पाठेघर तथा अण्डासयमा दुई किसिमको हार्मोन आस्ट्रोजन र प्रोजेस्ट्रक्सीको उत्पादन हुन्छ । जसले संकुचन (कन्ट्राक्सन) तथा यसका भित्री तह (इडोमेट्रियम) बनाउन र बिगार्न तथा महिनावारी गराउन भूमिका खेलेको हुन्छ । स्वास्थ्य विज्ञानमा पाठेघरको भित्री तहमा हार्मोनहरूको नियन्त्रणमा टुक्रिएका टुक्राहरू योनिमार्ग हुँदै रगत बग्ने प्रक्रिया नै मासिक स्त्रीधर्म हो भनिएको छ । अझ सजिलोसँग बुझ्ने हो भने, गर्भाधान नभएका डिम्बहरू महिलाको योनिबाट निश्कासित हुने सरल र सामान्य प्रक्रिया नै रजस्वला हो ।

पहिलो पटक हुने महिनावारीलाई (मेनार्की) भनिन्छ भने रोकिएको अवस्थालाई (मेनोपज) भनिन्छ । महिनावारी हुँदा ९० प्रतिशत महिला पीडामा हुने गरेको एक अध्ययनले देखाएको छ । रजोधर्मका बखत विभिन्न संक्रमणहरूको खतरा बढी हुन्छ । मनोविज्ञानले यस बखत महिलामा बढी मानसिक तनाव हुने सिद्ध गरिसकेको छ ।

महिला त छोटो समय पर सर्छन् । अर्थात् सामान्यतया ११ देखि ५० वर्षको उमेरसम्म मात्रै । तर, पुरुष जन्मदेखि मृत्युपर्यन्त छाउ बारिरहेको छ । बाल्यकालमा आमाको, किशोर अवस्थामा दिदीबहिनीको, युवावस्थामा श्रीमतीको, वृद्धावस्थामा छोरीहरूको छाउ बार्न विवश छ । विशेषगरी ब्राह्मण र क्षेत्री समुदाय यो मामलामा अलि कट्टर देखिए । हिन्दूधर्म नै माने पनि नेवार समुदाय यो मामलामा निकै उदार छ । महिनावारी भएको समयमा ब्राह्मण–क्षेत्री समुदायका श्रीमान्÷श्रीमती अलग्गै बसिरहेका बेला, नेवार समुदायका कतिपय दम्पती ढुक्कले यौन सम्पर्क गर्ने गरेको अनुभव सुनाउँछन् । आफू कुनै पनि अन्धविश्वास नरहेको भन्ने किशोरी पनि महिनावारीका समयमा हरेक काम गरे पनि मन्दिर भने नगएको अनुभव सुनाउँछन् । कारण सोध्यो भने भन्छन्, ‘कस्तो, कस्तो’ लाग्छ । यही कस्तो कस्तो लाग्नु नै समस्या हो । अदृश्य ‘शक्ति’ को त्रास होला ।

कामकाजी महिला, पढ्ने विद्यार्थी ‘पन्छिएकै’ कारण परीक्षा दिनबाट वा अन्य अत्यावश्यक कामबाट वञ्चित गराइनु घरपरिवारले हेलाँहोचो, छिःछिः दुरदुर गर्नु अनुचित हो । तर, पश्चिमा छाडायौनवादका आडमा परम्परालाई सत्तोसराप गर्नु पनि उचित छैन । आजभोलिका प्रबुद्ध महिलाले साँस्कृतिक परिपे्रक्ष्यको रक्षा गर्दै रीतिरिवाज कायम राख्न पहल गर्नुपर्छ ।

मानव सृष्टि नारीबिना सम्भव छैन अनि स्त्री गुण नै नारीहरूको रजस्वला हो । रजस्वला गर्भाधान गर्नसक्ने क्षमताको प्रमाण अनि नितान्त प्राकृतिक प्रक्रिया हो । शास्त्रहरूले पनि रजस्वला र यस प्राकृतिक गुणप्रति समस्त मानव जगत्को ध्यानाकर्षित गर्न ऋषिपञ्चमीको परिकल्पना गरेको हुनुपर्छ तर यसलाई कुनै दोष या पापभन्दा पनि गुण र सृष्टिको कारकका रूपमा अभिव्यक्त गर्दै आजका दिनमा रजस्वलालाई नितान्त सामान्य अनि छुवाछुतभन्दा पनि सरसफाइ हो भन्ने बुझ्नु जरुरी छ । रजस्वला सृष्टिको सुरुवात हो, यसर्थ छाउ वा अन्य कुनै पनि कुसंस्कारको रूपमा लिएर यसको विनाश गर्नु हुँदैन । सृष्टि वा सिर्जना गर्न सक्ने महिला छाउ गोठमा आफैं मारिइन् भने त्यो जस्तो विडम्बना केही हुन सक्दैन ।

टिप्पणीहरू