हजुरआमाको बूढो,रहेछ साह्रै…
‘बजारमा कम उमेरका केटी खोज्दै हिँड्ने बा–हजुरबाहरु के ती युवतीहरुमा तपाईंको छोरी,नातिनी, बहिनीको अनुहार देख्नुहुन्न ?’ निशा निगमले केही दिनअघि फेसबुकमा पोष्ट गरेको स्टाटस हो यो । एउटा उखान नै छ नि– ‘मान्छे जति बूढो, उति फुँडो ।’ हालै चितवनमा अन्दाजी १० वर्ष उमेरकी बालिका आफ्नै हजुरबुबा पर्नेबाट बलात्कृत भएकी छन् ।
बाबुआमाको उचित पालनपोषण र रेखदेखमा हुर्किएका छोरीचेली त थाहै नपाई दुराचारीहरुबाट बेलाबेलामा दुर्व्यवहार र जबरजस्ती करणीको शिकार हुने गरेको हाम्रो समाजमा अगतिला आमा बाबुका सन्तान त झनै जोखिममा पर्ने नै भए । ती बालिकाको बसोबास कास्की थियो । आफ्नो घर नभए पनि पहिले त बाबुआमासँगै थिइन् भाडाको कोठामा । तर ज्यामी काम गर्ने बाबु आमा दुवै रक्स्याहा ।
बाबु श्रीमती फेर्दै हिँड्ने,आमा पनि लोग्ने फेर्दै हिँड्ने भएपछि अलपत्रमा परेकी बच्ची उतै मावलीको आश्रयमा थिइन् । यसै क्रममा गत फागुनमा उनी चितवनमा बस्ने हजुरआमा–हजुरबुबा भएको ठाउँमा आइन् । हजुरआमा बुबाको आफ्नै आमा भए पनि हजुरबुबाचाहिँ सौतिनी अर्थात् हजुरआमाको अर्काे लोग्ने ।
“एउटा संरक्षण गृहमा बसिसकेपछि बालिकाले कुनैपनि संरक्षण गृहमा अब बस्दै बस्दिनँ, बरु ज्यामी काम गरेर खान्छु भनेकी थिइन् माइती नेपालमा ।”
आएको तीन–चार दिनमै बूढाले बच्चीमाथि जबरजस्ती करणी गरेको बुझिएको छ । हजुरआमा,हजुरबुबा पनि सानो कोठामा बस्ने भएकाले बालिकालाई उनीहरुसँगै सुत्नुपर्ने बाध्यता भयो । एकदिन उनी नुहाएर सुत्न गइन्,सुतेको केही बेरमै ती व्यभिचारी हजुरबुबाले बच्चीलाई बिस्तारै सुम्सुम्याउँदै यौनांगमा औंला हालेर चलाउन थाले ।
उनलाई नंग्याएर जबरजस्ती आफूमाथि चढ्न लगाए । उनी कराएपछि हजुरआमाले के भयो भनेर सोधिन् । उनले हजुरबुबाले यस्तो गर्नुभयो भनिन् । तर हजुरआमाबाट कुनै सुनुवाइ भएन । हजुरआमाले त्यति महत्व नदिएपछि बच्ची आफैं इलाका प्रहरी कार्यालय चनौलीमा गएर आफूमाथि भएको घटनाको इतिवृत्तान्त सुनाएकी हुन् ।
प्रहरीले ती हजुरबुबालाई नियन्त्रणमा लिइसकेको छ । बालिकाकी हजुरआमा र फूपू कोही पनि जाहेरी दिने पक्षमा नभएपछि एउटा संरक्षण गृहमार्फत् जबरजस्ती करणी मुद्दा दर्ता गरी अदालतबाट थप म्याद लिएर प्रहरीले अनुसन्धान गर्दैछ । जिल्ला प्रहरी कार्यालय चितवनको महिला तथा बालबालिका सेल प्रमुख प्रहरी निरीक्षक कमला नरालका अनुसार मेडिकल परीक्षण गर्दा बालिकाको संवदेनशील अंग वरपर रगडिएको रातो डाम देखिएको छ ।
बलात्कार हुनलाई महिलाको यौनाङ्गमा पुरुषको यौनाङ्ग छिराउनै नपर्ने,औंला मात्रै छिराए पनि जबरजस्ती करणी भएको मानिने कानुन व्यवसायी बताउँछन् । कुनै डकुमेन्ट नहुँदा बच्चीको उमेर यकिन हुन नसकेको प्रहरी निरीक्षक नरालले बताइन् ।
मुलुकी अपराधसंहिता २०७४ अनुसार १० वर्षभन्दा कम उमेरकी बालिकालाई जबरजस्ती करणी गर्नेलाई जन्मकैदको सजाय हुनेछ भने बालिकाको उमेर १० वर्ष वा १० वर्षभन्दा बढी १४ वर्षभन्दा कम भए बलात्कारीलाई १८ वर्षदेखि २० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । यस्ता घटना न्यूनीकरणका लागि कानुनी व्यवस्थाबारे सबैलाई ज्ञान दिँदै सचेतनामूलक कार्यक्रमहरु व्यापक रुपमा सञ्चालन गर्न आवश्यक रहेको उनै प्रहरी निरीक्षक कमला बताउँछिन् ।
प्रहरीले ती बालिकालाई पहिले एउटा संरक्षण गृहमा राखेको थियो । त्यसपछि माइती नेपालको जिम्मा लगायो । माइती नेपाल चितवनको आवधिक गृहमा १२ दिन बसेकी बालिकालाई उक्त संस्थाले गत बिहीबार प्रहरीको जिम्मा लगाएकोमा प्रहरीले फेरि अर्काे संरक्षण गृहमा पठाएको जनाएको छ ।
‘उनलाई माइती नेपाल काठमाडौंमा पठाएर त्यहीँको टेरेजा एकेडेमीमा पठनपाठनको व्यवस्था मिलाउने सोचेको थिएँ’, माइती नेपाल चितवनका कार्यक्रम संयोजक ईश्वर गिरीले भने, ‘तर उनले पढ्नै चाहिनन् । पढ्ने इच्छा र संरक्षण दिने मान्छे भएको भए एसओएस बालग्रामले पनि पढाइ खर्च सघाउँथ्यो’, गिरीले थपे, ‘बालिका कुनै संरक्षण गृहमा पनि बस्न नचाहने, अभिभावकत्व दिन कोही आफन्त पनि तयार नभएपछि फेरि राज्यकै जिम्मा लगाएका हौं ।’ हुन त बालिकाका दाजुहरु पनि नभएका होइनन् तर उनीहरु लागुपदार्थ सेवन गरेर दुर्व्यसनी भएको बताइन्छ ।
जेहोस्, एउटा संरक्षण गृहमा बसिसकेपछि बालिकाले कुनैपनि संरक्षण गृहमा अब बस्दै बस्दिनँ, बरु ज्यामी काम गरेर खान्छु भनेकी थिइन् माइती नेपालमा । किन होला ? संरक्षण गृहमा राम्रो ममतामयी वातावरण नपाएर पो हो कि ! सोचनीय विषय छ ।
फेरि गैरसरकारी रुपमा सञ्चालित संरक्षण गृहहरुमा भन्नासाथ पीडितहरुलाई राख्नलाई ठाउँ पाउन पनि समस्या हुने गरेको प्रहरी बताउँछन् । प्रहरी निरीक्षक कमला नराल र माइती नेपाल चितवनका कार्यक्रम संयोजक ईश्वर गिरी भन्छन्, ‘यस्ता अभिभावकविहीन पीडितलाई राख्न सरकारी संरक्षण गृहको एकदम आवश्यकता छ ।’
टिप्पणीहरू