किन पसे २ दर्जन महिला सिंहदरबार ?

किन पसे २ दर्जन महिला सिंहदरबार ?

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले महिलाहरुले नेतृत्व गरेको ठाउँमा पारदर्शिता र सुशासन भेटिने गरेको बताउनुभएको छ । बजेटमा महिलाहरुको सुझाव संकलन गर्ने उध्देश्यले अर्थ मन्त्रालयमा मंगलबार दिउँसो आयोजित छलफलमा बोल्दै शर्माले महिलाहरुलाई आत्मनिर्भर बनाउने बिषयमा बजेटबाट सम्बोधनको प्रयास गरिने बताउनुभएको हो ।

‘आत्मसम्मानसहितको आर्थिक निर्भरता प्रमुख कुरो हो । यसका लागि शिक्षा र स्वास्थ्य अनिवार्य शर्त हो’ उहाँले भन्नुभयो, ‘महिलाहरुलाई शिक्षा, स्वास्थ्यको पहुँच बृद्धि गर्यो भने समाजलाई शिक्षित बनाउने अभियान छिटै हासिल हुने मैले देखेको छु ।’

उहाँले सामाजिक चेतना बृद्धि नगरी महिला हिंसा अन्त्य नहुने धारणा राख्नुभएको थियो । महिला हिंसा अन्त्यका लागि आममहिलालाई जोडेर समाजमा चेतना बृद्धि गर्ने गरी बजेटको गृहकार्य भएको मन्त्री शर्माको भनाइ छ ।

त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिलाका क्षेत्रमा कम बजेट विनियोजन भएको गुनासो गर्नुभयो । छलफलमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने दुई दर्जन महिला नेतृ, अभियन्ता,सञ्चारकर्मी, उद्यमीलगायतको उपस्थिति थियो ।

टिप्पणीहरू