राहत वितरणमा कस्तो कोलाहल ?
मानव–मानवबीच दु्रत गतिमा संक्रमण फैलिइरहेको कोरोना भाइरसबाट जनतालाई बचाउन सरकारले गरेको प्रयास सराहनीय छ । मानिसहरुको भीडभाड नहोस्, परस्परमा लसपस नहोस् भनेर नै देशमा लकडाउन गरिएको हो । लकडाउनका कारण उद्योगधन्दा, कामकाज ठप्प भएपछि दैनिक ज्याला मजदूरी गरेर खाने दीनदुःखी तथा विपन्न वर्गका मानिस भोकभोकै भए भनी हरेक स्थानीय तहमा राहत वितरण गर्न लगाइएको हो । तर स्थानीयस्तरमा भने यसमा हेलचक्य्राइँ र अनियमितता भएको पाइएको छ ।
पूर्वीनवलपरासीको गैंडाकोट नगरपालिकाको वडा नं. ८ मा चैत्र २४ गते नगरपालिकाको तर्फबाट राहत सामग्री वितरण गर्दा धेरै मानिसहरु एकै ठाउँमा गुजुमुज्ज भएर हानथाप गरेको दृष्य देखियो । कसैलाई कोरोना लागेको भए अरुलाई पनि सर्ने खतराको स्थिति ! वडा सदस्य नरबहादुर थापाको घर अगाडि बोराहरुमा पोका पारिएको अवस्थामा राहत सामग्री राखिएका थिए । त्यो वितरणका क्रममा हुने खानेले पाएको, हुँदा खानेले चाहिँ नपाएको भन्दै एकथरी कराइरहेका थिए । कोही पेन्सनवालाले समेत राहत पाएको, बिल्डिङ घर, खेतबारी हुनेहरुले पनि पाएको, श्रीमान्–छोराछोरी विदेश हुने र पसल हुनेले समेत पाएको तर बहालमा बस्ने, साँच्चिकै ज्याला मजदूरी गरेर खानेहरु कतिपयलाई भने छुटाइएको भन्दै असन्तुष्टहरुबाट व्यापक कोलाहल भएको थियो । यसरी राहतमा मनपरी ढंगले जथाभाबी भएको भन्दै आवाज उठाउनेहरुलाई पछि नाम लेखेर भटाभट सामग्री उपलब्ध गराइएको थियो ।
यो त एउटा वडाको कुरा भयो । गैंडाकोटकै अन्य वडा र मुलुकका सबै पालिकाहरुमा राहत वितरणको अवस्था के होला ? साह्रै मर्कामा परेका, चुल्हो नबल्ने अवस्था आएको तथा भोकले मर्नै लागेकाहरुलाई दिने भनिएको हो तर भइदियो राहतकै भद्दा मजाक– मानौं, राहत होइन भतेर वितरण भएको हो, इष्टमित्र र छरछिमेकका लागि ! यहाँ वितरण भएको राहत सामग्रीमा १० किलो चामल, एक किलो दाल, आधा लिटर तेल, एकपोका नुन र एउटा साबुन रहेको थियो ।
टिप्पणीहरू