हुँदै नभएको कुराको पछि किन लाग्छौं हामी ?

हुँदै नभएको कुराको पछि किन लाग्छौं हामी ?

यस धर्तीमा जन्मिएपछि एक दिन सबैले मर्नुपर्छ । कुनै पनि प्राणी यहाँ अजर अमर नहोला ! जिन्दगीमा सुख–दुःख सब भाग्यका खेल हुन् । त्यसमा कर्मको पनि प्रभाव होला । तर धर्मले हाम्रो भाग्य कदापि बदल्न सक्दैन । भगवान त केवल भ्रम हो । यदि ईश्वर भइदिएको भए यो दुनियाँमा रोग, भोक, शोक नै हुने थिएन । अन्याय, अत्याचार, भ्रष्टाचार, दूराचारको नामोनिसान रहने थिएन । मात्र सुख, शान्ति, प्रेम, सद्भाव, सुशासन रहने थियो ।

संसारमा अनेक धर्म बनाइएका छन् । लौ त कुनचाहिँ धर्मले भगवान देखाउन सक्यो अहिलेसम्म ? केवल ईश्वर छ भन्दै पूजा–प्रार्थना गर्न सिकाएको छ । तर भगवान देखाउने सामथ्र्य कसैमा छैन । किनकि भगवान नै छैन । धर्मगुरुहरुले नभएको भगवानको नाम लिएर मान्छेहरुलाई भुलभुलैयामा पारिरहेका छन् । कागले कान लग्यो भनेर कागको पछि दौडिने नै उस्तै ? वास्तवमा ती मान्छे नै वेबकुफ हुन्, जो अन्धभक्त भएर धर्मको पछि कुदिरा’छन् । अझ हिन्दू धर्ममा त थुप्रै भगवानको चित्रण गरिएको छ, जबकि भगवान एउटा पनि छैन ।

पहिलेका टाठाबाठा शासकहरुले मानिसलाई अनुशासनमा राख्न, दास बनाएर शासन गर्न ईश्वरको परिकल्पना गर्दै धर्मको रचना गरेका हुन् भन्न सकिन्छ । पछिल्लो समय सबैजसो देशमा मानिसलाई नियन्त्रण गर्न ऐन, कानुन निर्माण भइसकेको अवस्थामा विश्वमै धर्मको आवश्यकता छैन । धर्म मानेर सुखी सम्पन्न हुने, नमानेर दुःखी विपन्न हुने कुरा मिथ्या हो । जे कुरा प्रमाणित छन्, पुष्टि हुन्छ वा हुन सक्छ, त्यसको पछि वा खोजीमा लाग्नु राम्रो हो । तर आजको २१ औं शताब्दीमा पनि मानिसहरु किन धर्म र भगवानजस्ता भ्रामक कुराको पछि लागेका होलान् ? अचम्म छ ।

कार्लमाक्र्स भन्छन्, ‘धर्म एउटा भ्रमपूर्ण सूर्य हो, यसले मानिसको दिमागलाई तबसम्म घुमाउँछ, जबसम्म मानिसलाई मानवताको दिमागले घुमाउँदैन ।’ एक–अर्कालाई सहयोग गर्ने, दीनदुःखीको सेवा गर्ने तथा पढे लेखेका मानिसहरुले समेत धार्मिक परम्परा तथा ईश्वरभक्तिलाई पूर्णरुपले त्याग्न सकेका छैनन् । अझै पनि थुप्रै मानिस मन्दिर, मस्जिद, चर्च, गुम्बा धाइरहेका छन् । महाभारत–रामायण, कुरान, बाइबल, त्रिपिटकलाई जीवनको ठूलै हिस्सा मानिरहेका छन् ।

तर धर्म नमान्ने मानिस पनि लामो आयु बाँचेकै छन् । धर्म मान्नेहरुको पनि असामयिक निधन भएकै छ । मानिसमा धर्मप्रतिको मोह अझै व्याप्त हुनु एक बेवकुफी नै हो । धर्म र तिनका भगवानले बचाउने भए तीर्थ यात्रा गएर आउँदाआउँदै बस पल्टिएर मानिसहरु मर्छन्, घाइते–अंगभंग हुन्छन् किन ? अहिले कोरोना संक्रमणले मर्नेहरु पनि धेरै त आस्तिक नै होलान् किनकि यस संसारमा धेरै मानिस आस्तिक नै छन् जस्तो लाग्छ ।

नेपालमा २०७२ को भूकम्पमा चर्चमा प्रार्थना गर्दागर्दै भवन भत्किएर र च्यापिएर भक्तहरुको मृत्यु भएको सुनेकै हौंला । मरेपछि त सक्किगो नि जीवन । मरणपछि स्वर्ग र नर्क पनि हुँदैन । स्वर्ग जाने सर्टिफिकेट दिन्छु भन्ने महाफटाहा र लिन खोज्ने महामूर्ख बाहेक केही होइनन् ।

ईश्वर दाहिने भएर कसको के लाग्छ र ? भनिन्छ । त्यो बकवास कुरा हो । ईश्वर कहिल्यै कसैको दाहिने–देब्रे वा तल–माथि हुनै सक्दैन । किनकि विश्वास गरौं, ईश्वर छँदै छैन । कोही असाध्यै बिरामी पर्दा वा मर्दा दैव लाग्यो भनिन्छ । नभएको दैव कहाँबाट लाग्नु ! आफ्नो लहनाले जुनबेला जे निम्त्याउँछ त्यही हुने हो जीवनमा । भगवान जस्तै भूतप्रेत पनि काल्पनिक कुरा हुन् । शारीरिक वा मानसिक स्वास्थ्यमा गडबडी भएर मानिस बिरामी हुने हो । कसैलाई भूतप्रेत वा बोक्सी लागेको भन्नु गलत हो ।

ईश्वरको नजिक हुनेहरु स्वस्थ–सुखी हुने भए सबैभन्दा बढी दुःखी–रोगी त मठमन्दिरकै छेउछाउ देखिन्छन्, जहाँ तथाकथित ईश्वरको पूजाअर्चना गर्न जान्छन् मानिसहरु । मन्दिरमा गएर ढुंगाको मूर्तिमा दूध, फलफूल, मिठाई र पशुपक्षीको बलिसमेत चढाउँछन् मानिस । हे मानिस ! तिमीले ढुंगाको मूर्तिमा दूध, फल, मिठाई आदि चढाएको व्यर्थ हो ।

यदि ईश्वर हुन्थ्यो नै भने पनि उसले अरु प्राणीलाई मारेर मलाई भोग देऊ भन्ने थिएन । तिमीले चढाएको भेटी पनि त्यही मन्दिरका पूजारी र मन्दिर समितिले नै चलाउने हो । मान्छेहरु महायज्ञमा हजार, लाख र करोड पनि दान गर्छन् पुण्य कमाउने आशमा तर त्यसरी पुण्य मिल्ने सोच्नु केवल मुख्र्याइँ हो । बरु देशमा रंगशाला, विद्यालय, अनाथालय आदि बनाउन दान गर्नु उत्तम कार्य हो । त्यस्तो धन महायज्ञमै दिनुपर्दैन, जुनसुकै बेला जसरी दिए पनि हुन्छ । पुण्य त मिल्छ, मिल्दैन थाहा छैन तर प्रशंसनीय कार्य हो । मन्दिर, चर्च, गुम्बा बनाउन दान गरिने जग्गा सुकुम्वासीको घर बनाउन दिने हो भने त्यसले अरुको भलाइ हुन्छ ।

भगवानको नाममा नखाई नखाई व्रत बसेर, घरमा पूजा लगाएर, चाडपर्व मनाएर परिवारको समृद्धि–समुन्नति हुन्छ भन्ठान्नु गोरु ब्याए बराबर हो । घरमा स्वस्तिशान्ति गर्दा फाइदा अवश्य हुन्छ, पण्डित्याइँ गर्नेलाई । पूजा लगाउनेलाई त घाटा मात्रै हो । कुन धर्मले कसलाई खान दिएको छ र ? बरु तिनले चाहिँ खान, कमाउन पाएका छन्, जसले धर्मको भ्रम छरेर सोझासाझा मानिसलाई उल्लु बनाइरहेका छन् । धर्मको पछि लाग्नेहरुलाई केही फाइदा छैन, उल्टो घाटा छ ।

विभिन्न धार्मिक क्रियाकलापको लागि पैसा खर्च भइरहेको हुन्छ । घरमा पूजा लगाऊ, पैसै खर्च । मन्दिर जाऊ, पूजासामग्री, फलफूल आदि किन्दा पैसै खर्च । विभिन्न चाडबाड मनाऊ पैसै खर्च । खर्चैखर्च । खर्च बाहेक कुनै पनि धार्मिक गतिविधिले मानिसलाई कहिल्यै केही दिएको छैन । तैपनि मानिसहरु किन ऋणधन गरेर धार्मिक कार्यमा सरिक भइरहेका छन् ? सचेतना जगाउनुपर्ने भएको छ ।

राशि, जन्मचिना अनुसार कसैले भाग्य बताइदिने कुरा पनि स्वर्ग जाने सर्टिफिकेट दिने जस्तै कुरा हो । हुन त ज्योतिषहरु यही नाममा पालिएका छन् । धेरै के भन्नु ? तर रोजीरोटी भन्दैमा मान्छेहरुलाई बेवकुफ बनाएर पेट भर्नु कुनै हालतमा राम्रो होइन । अहिले लकडाउन भएर छैनन् नत्र अरु बेला नारायणगढ बजारमा मान्छेलाई टीका लगाइदिँदै पैसा माग्न हिँड्ने पनि छन् ।

प्रकृतिको आफ्नै गति हुन्छ । त्यहि प्राकृतिक चक्रले चलाइरहेको छ हामीलाई, कुनै धार्मिक रीति वा ईश्वर भक्तिले होइन । ईश्वरको पूजा प्रार्थनाले वा कुनै धार्मिक कार्यले दिउँसो रात पार्न सक्छ वा राति सूर्योदय गराउन सक्छ भने तब मानौंला धर्मलाई/ ईश्वरलाई ।

तर त्यो सम्भव नभएजस्तै पानी पर्ने–नपर्ने, हावा लाग्ने–नलाग्ने कुरा पनि कुनै देवी देवताको पूजाआजा गरेर सम्भव छैन तर गर्छन् मानिसहरु । हुन त बाउबाजेदेखि चलेको रित भनेर मानिसहरुले धार्मिक परम्परा अपनाइरहेका हुन् तर वास्तवमा फाइदा केही छैन । त्यसो त सुख समृद्धिको लोभ र दुःखकष्टको भयले पनि मानिसहरु धर्मको पछि भागिरहेका छन्, जुन बेकार हो । जिन्दगीमा जे हुनु छ, त्यो भएरै छाड्छ । सुख–दुःख त जीवनको साथी हो ।

-अजय गोर्खाली

टिप्पणीहरू