बहराइनमा २२ नेपाली संक्रमित, सबै सुरक्षित

बहराइनमा २२ नेपाली संक्रमित, सबै सुरक्षित

वैदेशिक रोजगारीको सिलसिलामा बहराइन पुगेका २२ नेपाली युवा कोरोना भाइरसबाट संक्रमित छन् । त्यहाँस्थित श्रम सहचारीको कार्यालयले ती नेपालीबारे बुझ्न खोज्दा बहराइन सरकारले ‘आवश्यक परे हामी नै सम्पर्क गर्छौं’ भन्ने जवाफ दिएको छ ।

‘हामीले हाम्रोतर्फबाट उनीहरुको उपचारमा गर्नुपर्ने योगदान र भूमिकाबारे सोधेका थियौँ’, श्रम सहचारी दामोदर दाहालले जनआस्थालाई भने, ‘अवस्था चिन्ताजनक नरहेको र उपचारका सबै काम बहराइन सरकारले नै गर्छ भन्ने जवाफ पायौँ ।’

कोरोना भाइरसको संक्रमणका कारण बहराइनमा एक हजार ४० जना संक्रमित छन् । त्यसमध्ये ६ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा सबै त्यहीँका स्थायी बासिन्दा हुन् ।

संक्रमित १२ नेपालीको अवस्था सामान्य रहेको सूचना पाएपछि  मानामास्थित नेपाली दूतावासले उक्त सूचना काठमाडौंस्थित परराष्ट्र एवं श्रम तथा रोजगार मन्त्रालयमा पठाइसकेको छ । तर, संक्रमित व्यक्तिहरुको नाम भने गोप्य राखिएको छ ।

‘परिवारमा अनावश्यक चिन्ता नहोस् भनेर नाम सार्वजनिक गरिएको छैन, त्यसमाथि यहाँको सरकारले पनि खतरामुक्त भनेपछि धेरै चिन्ताको विषय बनाइएन’,दाहालले बताए ।

संक्रमित नेपाली श्रमिकहरु ४५ वर्ष मुनिका हुन् । थप नेपाली संक्रमित नहुन् भन्नका लागि उच्च सजगता अपनाइएको र बसिरहेको ठाउँ सुरक्षित नलागे दूतावासमै आएर सुरक्षित हुन सकिने गरी व्यवस्था मिलाइएको पनि दाहालले बताएका छन् ।

टिप्पणीहरू