अमेरिकामा लाश उठेन, दोलखामा क्यास

अमेरिकामा लाश उठेन, दोलखामा क्यास

कोरोनाको कारण अमेरिकामा हालै एकजना नेपालीको ज्यान गयो । अमेरिकामा ट्याक्सी चलाउने काम गर्दै आएका उनी नेपाल प्रहरीको पूर्व असई थिए । निधन भएको लामो समयसम्म पनि लाश बुझ्ने आफन्त कोही भेटिएनन् । हुन तः नेपालमा उनकी श्रीमती,दुई छोरी र बुढा आमा बा रहेको बताइन्छ । पर्वत पुख्र्यौली घर भएका ४४ वर्षीय प्रकाश उर्फ पवनकुमार मल्लको अघिल्लो बुधबार न्यूयोर्कस्थित आफ्नै अपार्टमेण्टमा निधन भएको हो । अमेरिका गएपछि उता पनि परिवार जोडेको गाईंगुईं चलेपनि मल्लले आफ्नो निजी जीवनबारे कसैलाई बताएका थिएनन् ।

यता दोलखामा भने त्यहि अमेरिकाबाट कोरोना पीडितको सहयोग भनेर पठाइएको एक लाख रूपैयाँ हराएकोमा सामाजिक सञ्जालमा रडाको मच्चिएको छ ।

अमेरिकाबाट पद्यमा प्रधान मल्लले दोलखाको स्थानीय बालगृहलाई अहिलेको प्रकोपमा सहयोग गर्न एक लाख पठाएकी थिइन् । अहिले त्यो पैसा न यता,न उता भएको आशंका पद्यमाले गरेकी छिन् । पैसा पठाउने व्यक्ति र पाउने संस्थाले ताकेता गरेपनि रहस्यको चुरो फेला परेको छैन । दोलखामा जन्मी, हुर्केर बिबाहपश्चात् अन्यत्र गएका नेवार चेलीहरूको साझा संस्था म्यासमुचा खलः मा आबद्धहरूको दन्तबजानले महामारीमा पनि रकम हिनामिनाको प्रसंग उठेको छ ।

पद्यमा स्वयम् यतिखेर अमेरिकामा कोरोना संक्रमित पश्चात् अस्पतालमा उपचार गराइरहेको बताइन्छ । विगतको महाभूकम्पमाझैं अहिले पनि विदेशबाट सहृदयीहरूले पठाएको रकम झ्वाम् पार्ने गिरोह सक्रिय रहेको आशंका गरिएको छ । तर, सोही संस्थाकी पुष्पा जोशीले भने हालै सामाजिक सञ्जालमार्फत् कोरोनाको प्रकोप र लकडाउन खुकुलो हुने बित्तिकै उल्टै चियाखर्चसहित पद्यमालाई आफूले रकम फिर्ता गर्ने बताएकी छिन् । जोशीले पद्यमालाई सच्चा दिलले समाजसेवामा खर्च गरेको भए शायद सामाजिक सञ्जालमा

गाईजात्रा गर्नुहुन्नथ्यो होला भन्दै ब्यंग्यसमेत गरेकी छिन् ।

टिप्पणीहरू