कोरोना कहरमा सामाजिक सद्भाव
कोरोना कहरले विश्व आक्रान्त बनाइरहँदा नेपाल पनि अछुतो रहन सकेन । त्यसैले सरकारले लकडाउन आह्वान ग¥यो र सबै नागरिकले यसलाई पूर्णत पालना गरेर घरभित्रै बसी सरकारलाई सहयोग गरेका छौँ ।
कोरोना भाइरस एउटा महामारीको रूपमा मानव समुदायको अगाडि प्रस्तुत भएको हुँदा यसले कुनै धर्म, वर्ण, रंग, जति, उच–निच, धनी, गरिब, पादरी, पुजारी कसैलाई छाडेको छैन । यसलाई आत्मसात् गर्दै नेपाल अन्तर्राष्ट्रिय धार्मिक सञ्जाल (निरन) नेपालले संस्थागत रूपमा विज्ञप्ति जारी गरिसकेको छ । धर्म र मान्यताको आडमा भीडभाडमा जम्मा नहुने, भौतिक दूरी कायम राख्ने र केवल घरभित्रै बसेर सरकारलाई सघाउनका लागि समेत अनुरोध गरेको छ । नेपाल अनेक धर्म, वर्ण, संस्कृति, मान्यता र जातिले सिंगारिएको राष्ट्र हो ।
यी सबै विविधता भएर पनि एकापसमा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सफल र उदाहरणीय राष्ट्र हो तर अहिले आएर कोरोनाको विषयलाई लिएर विभिन्न धर्म र सम्प्रदायमाथि आक्रमण गर्दै नकारात्मक धारणा र अफवाह फैलाउने काम शुरू भएको देखिन्छ । यसमा निरन नेपालले चिन्ता व्यक्त गरेको छ ।
अहिलेको समय भनेको विश्वमै केवल मानव जाति भन्ने भावना र यो महामारीबाट कसरी बच्ने र बचाउने भन्नेतिर मात्र ध्यानाकर्षण हुनुपर्ने जरुरी छ । मानवताको परिचय दिएर विपदमा परेकालाई सहयोग गर्नु, करूणा भाव प्रस्तुत गर्नु र एउटा मानवले अर्को मानवलाई सहयोग गर्नु हो । राष्ट्रिय रूपमा होस् या अन्तर्राष्ट्रिय रूपमा एकले अर्कोलाई आरोप/प्रत्यारोप नगरी सहिष्णुता र सामाजिक सद्भाव कायम रहेको व्यवहार देखाउन सकिएन भने हामी परीक्षामा फेल भएको मान्दा हुन्छ । किनकि, आपतमा हामी कसरी प्रस्तुत हुन्छौं अहिलेको समयले हामीलाई परीक्षा लिइरहेको छ ।
निरन नेपालले सबै धर्म, सम्प्रदायलाई एकै ठाउँमा समावेश गरी मानव कल्याणकारी कार्यमा समाजलाई चेतना जागृत गराउने काममा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको छ । समाजमा घट्ने अमानवीय घटना र अभ्यासलाई निरुत्साहित गरी मानवले मानव भएर बाँच्न पाउनुपर्छ भन्ने आवाज उठाउँदै नेपाल सरकार र विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय संघसंस्थासँगको सहकार्यमा, काठमाडौंदेखि लिएर जिल्ला–जिल्लामा समेत अनेक तालिम, गोष्ठी र सेमिनारमार्फत जनचेतनामूलक कार्यक्रम प्रस्तुत गर्दै आइरहेको छ ।
बालविवाह न्यूनीकरणदेखि लिएर महिला हिंसा अन्त्य एवं व्यावहारिक शिक्षाका लागि निरन्तर वकालत गर्दै आइरहेको छ । आजको यस विषम परिस्थितिमा पनि लकडाउन पालना गर्दै सामाजिक सद्भाव कायम राखौं र एकअर्कामा सहयोगी र प्रेमिल भावना कायम राखौँ भन्ने आह्वानसमेत गरेको छ ।
टिप्पणीहरू