लोककथाका प्रधानपञ्च र अहिलेको सरकारी कथा
कुनै गाउँको कथा हो । गरिब बस्ती थियो । जीविकोपार्जन गर्ने एक मात्र उपाय कृषि थियो तर गाउँका ठालुले उब्जाएको तरकारी होस् वा अन्नबाली वा कुखुरा खशी लुछेरै खान्थे । उनीहरूविरुद्ध बोल्ने कोही थिएन । सबै कुकृत्यको नाइने त्यस गाउँका नाइने थिए, प्रधानपञ्च थिए । समय काट्न धौधौ भएको अवस्था थियो । जति नै काम गरे पनि सञ्चित गर्ने दिन कहिल्यै आएन । एकदिनको कुरा हो, गाउँमा ठूलो रुखमुनि गाउँले भेला बसेको थियो । त्यस सभाका क्रममा नाइके प्रधानपञ्चलाई पाँच वर्षकी बालिकाले गाउँको समस्या छलफल गर्न बसेको सभामा जिज्ञासा राखेर सबलाई आश्चर्य तुल्याइन् । ‘तपार्इंले जुँगा खौरिनुभएको छ, अनुहार सफा छ, लगाउनुभएको लुगा सफा छ तर तपाईंको हृदय कुटिल छ । राति राति हाम्रो बस्तीको कुलो भत्काउने, अर्काको खेती नास गर्ने, परिवार मास्ने तपाईं अहिले सभामा बसेर अरूको समस्या हल गर्न खोज्दै हुनुहुन्छ ।’ बच्ची किसानकी छोरी थिइन्, जो अलि टाढाको गाउँको स्कुलमा गएको केही महिना मात्र भएको थियो । स्कुलमा पाएको शिक्षाको जगमा उनले प्रधानलाई राखेको जिज्ञासाले सबै गाउँलेलाई उत्साह दियो र बच्चीले बोलेको सत्य सबैलाई थाहा भएर पनि बोल्न नसक्ने हामी नै लाछी मान्छे हौं भन्ने भयो । तत्पश्चात् सबैजना एकसाथ पञ्चको विरोधमा उत्रिएर नयाँ व्यक्तिलाई चुनेर गाउँलाई हराभरा बनाए ।
ती बच्ची बोल्नुको पछाडि उनमा कुनै दोष थिएन न त लोभ नै थियो । जे सत्य देखेकी थिइन् त्यसलाई जस्ताको तस्तै भनेकाले पञ्चको कुटिल भेष उदांगो भएको थियो ।
ती प्रधानपञ्चसँग लय मिल्ने खड्गप्रसाद शर्मा ओलीको हालत अहिले त्यही देखिएको छ । बच्चीको खोजमा देशको समस्या झन् बल्झिएको छ । बच्चाबच्ची सरकारले बिनातयारी आयोजना गरेको लकडाउनमा बन्दी जीवन बिताइरहन बाध्य छन् । अनलाइन शिक्षाबारे ठूलो कुरा गर्ने ओली आफैंको भने शैक्षिक योग्यता सामान्य साक्षरतामा सीमित छ । सायद त्यही क्षोभ भएर उनलाई नयाँ–नयाँ विषय वा प्रविधिमा निकै रुचि छ र उनले बोलेका अप्रासंगिक विषयले हाँसो उत्पादन गर्ने मख्खन पुडिया बनेका छन् । भर्खरै मात्र कोरोनाबारे उनले दिएको बोसीय तत्व ज्ञानको परिभाषा देखेर कोरोनाको उद्गम देश चीनसमेत आश्चर्यमा परेको छ । नेपालका चिकित्सक त जिब्रो टोक्ने नै भए । सरकार कोरोनाको मारमा परेका जनतालाई धुलो हालेर भ्रष्ट अनियमितता गर्ने ध्याउन्नमा चुर्लुम्म डुबेको छ । ओली सरकारले गरेका आकार प्रकार अनुसारका अनियमितता हेर्ने हो भने स्वयं पार्टीलाई समेत लज्जित तुल्याएको छ ।
ओली यसरी प्रस्तुत भइरहेका छन्, जनताको स्पष्ट बहुमत र दुई तिहाइको जग भन्ने उनीसँग प्रतिनिधित्व गर्ने पार्टीका कार्यकर्ता एकस्वरमा विरोध गरिरहँदा पनि उनी टसमटस भएका छैनन् । बरु विरोधमा लाग्ने पार्टी भित्रकालाई प्रलोभन दिएर साम्य पार्ने र आफूसँग बहुमत छ भन्नलाई जस्तोसुकै हदसम्म गर्न सक्ने हैसियत भएको भन्ने चरितार्थ गरेका छन् । पूर्वसचिवलाई आफ्नो विरोधमा लेखेकै भरमा जेल हाल्ने, पूर्वप्रधनमन्त्री स्तरको व्यक्तिले कानुनी उपचार माग्न प्रहरी कार्यालय धाउँदा अपमानित गर्ने, राहतको नाममा कुहिएको चामल दाल बाँड्ने ८० करोडको राहत बाँडेको उर्दी गर्ने सरकार अर्बांैको स्वास्थसामग्री ल्याउने निहुँमा सेनाजस्तो संवेदनशील अंगमा दूषित राजनीति गर्न पछि परेको छैन । स्वस्फूर्त रूपमा राहत बाँड्ने कार्यमा सक्रिय नागरिक अभियन्तालाई प्रहरी पठाएर पक्राउ गर्नुले ओली सरकार कस्तो मनोदशा बोकेर आज जाने हो कि भोलि भन्ने विषादता थामेर कामिरहेको छ अनुमान गर्न सकिन्छ ।
सरकारको प्राथमिकतामा भोका जनताको सम्बोधन छैन, विदेशमा फसेका नेपालीलाई फर्काउने योजना छैन, बिनाकुनै तयारी भारतीय लकडाउनको धमिलो फोटोकपी गरी ल्याइएको बन्दाबन्दीले जनतामा परेको अवस्थालाई व्यवस्थित बनाउनेतर्फ लागेको देखिँदैन । पार्टी फुटाउने गरी ल्याइएको सांसद अपहरण प्रकरणमा सम्बन्धित व्यक्ति कानुनी उपचारका लागि प्रहरी कार्यालय वा सरकारी वकिल कार्यालयमा मुद्दा दायरका लागि जाँदासमेत ठाडो आदेशमा आनाकानी गरेर गैरकानुनी राज्यको अभ्यास गरेको सर्वविदितै छ । अध्यादेशको अपार असफलताले दिएको पीडालाई उनी अहिले पार्टीभित्र कलह ल्याउने र अस्तित्व संकटमा पार्न उद्दीप्त भएका छन् । रेडियो नेपालका कर्मचारी हुन् वा टेकुका चिकित्सकलाई प्रतिशोधको शैलीमा स्पष्टीकरण माग्न सक्नेहरूले पार्टी मात्र होइन देशको भविष्य पनि धरापमा राखेका छन् । ओलीले व्यक्तिका रूपमा आफ्नो दलमा गरेको दलाली अभ्यास हाम्रो सरोकार हैन भन्न सकिने अवस्था छैन । त्यो व्यक्ति अहिले प्रधानमन्त्रीको कुर्सीमा छ र त्यो देशको अभिभावक हो न कि कुनै पार्टी विशेषको मान्छे हो ।
सांसद खरिद–बिक्री प्रकरण र स्वार्थगत ल्याइएका अध्यायदेश, ऐन नियमले अवस्थालाई सोचेभन्दा धेरै खराब दिशातर्फ धकेलेको छ । त्यो पनि बेला थियो ओलीका विश्वास पात्र जो नेपाली मिडियाको जमेरै विरोध गर्थे, उनको कर्तुत बाहिर आएपछि ओलीको पहिलो र घनिष्ट रोजाइ कसरी र कति हदसम्मको अनियमितताको दलदलमा फसेको रहेछ भन्ने देखिन्छ । ती व्यक्ति सरकारबाट अपमानजनक रूपमा बाहिरिए पनि ओलीले उनीविरुद्ध कुनै कदम नचाल्नु बरु उल्टै घरमा शरण दिनुले धामी–बोक्सीको आधुनिक मिलेमतो बुझ्न लामो समय पर्खन पर्दैन । तीनले सरकारको कुर्र्सीमा बसेर अझ भनौं सञ्चारको नाइके भएर विरोधमा बोल्ने पत्रकार सारालाई निकै सराप्थे, त्यही मनोवृत्ति ओलीमा भिजेको छ । प्रहरी र प्रशासनको अनुपस्थिति भएका ठाउँमा पत्रकार कसरी पुगे भनेर शंका जनाइरहेका छन् । ओलीले बुझ्नुपर्छ नेपाली सञ्चार उनको व्यक्तिगत छविमा हिलो छ्याप्नेभन्दा पनि उनका कार्यशैलीप्रति जनताले जे–जस्तो भोगेका छन् ती समाचारलाई प्रकाशन प्रसारण गर्नु मिडियाको अपराध हो र ? निष्पक्ष मिडियाले ओलीले भनेजसरी रिपोर्टिङ गर्ने होइन कि देशको अवस्था जस्ताको तस्तै जे हो त्यो हरेकजनमा सुसूचित गराउने हो । त्यस कार्यलाई विरोध भयो भन्नुमा कुनै तुक छैन ।
राणाशासनको झल्को दिने गरी रातारात आएको अपरिपक्व अध्यादेश प्रकरणमा जसरी विरोधीलाई सकाउने खेल ओलीले खेलेर न्यायालय, प्रहरी, प्रशासनको दुरुपयोग गरे त्यसको स्पष्ट मूल्य उनले चुकाउनुपर्नेछ । त्यो उनलाई सरकारबाट पदच्यूत मात्र गराएर पुग्दैन, भित्री तहसम्मै उनका आसेपासेका खातामा भएको बोलकबोलको हिसाब बाहिर ल्याउनुपर्नेछ । उनलाई सल्लाह दिने, सघाउने र देशलाई लकडाउनमा धकेलेर कोरोनाको कारण देखाई गैरकानुनी कार्य गर्ने सबैको सहभागितालाई पारदर्शितापूर्वक जनमानसमा ल्याउनुपर्ने देखिन्छ । उनको कार्यकालमा भएका अनियमितताको लेखाजोखा कम्युनिष्ट पार्टीले गर्नु पर्नेछ । प्रतिपक्षमा रहेका पार्टीले एकबद्ध भई नेपाल र नेपालीको हितमा संगठित हुनुपर्ने आवश्यकता देखिएको छ । आशा गरौँ उनको गौरवशाली जेल स्मरणलाई परिष्कृत गर्दै दोस्रो संस्करणका रूपमा नेपाली जनताले अघि सार्नेछन् र बहुमतको आडमा देशलाई कैयांै वर्ष पछाडि धकेलेकामा सरोकारवालाहरूले अक्षरशः परिणाम हात पार्नेछन् । त्यसैमा हामी सबैको कल्याण छ ।
टिप्पणीहरू