मन्त्री, प्रधानमन्त्री हुन चाहिने योग्यता

मन्त्री, प्रधानमन्त्री हुन चाहिने योग्यता

सबैभन्दा सस्तो र बिकाउ व्यवसाय भएको छ राजनीति । धेरै धुर्तता साँध्नेहरूले उद्योगको रूपमा पनि विकास गरेको तथ्य हामी देख्न सक्छौ । स्वयं प्रमुख दलका चल्तीका नेतालाई नै लिऊँ, उनीहरूको विगत र वर्तमानलाई (नापतौल तथा गुणस्तर विभागले प्रमाणित नगरेको) तुलोमा जोखौं, त्यसको लेखाजोखा गरौं । अख्तियारको भवन उद्घाटनबखत तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादले भनेका थिए, ‘भवन मात्र राम्रो होइन भवनमा बस्ने कर्मचारी र कार्यशैली राम्रो हुनुपर्छ ।’

तर त्यो पनि एकादेशको कथाझैं मिथक सावित भयो जसरी कुनै बेलाका खरदारको हैसियत नभएका तर सरकारलाई खरिद गर्ने हैसियता बनाएका लोकमान कार्कीको रहस्यमयी दृश्यपात भयो । अहिले हैसियत र नामअनुसार पार्टीमा लाग्ने सबैको आस पड्काउन पाइने पद नै मुख्य ध्येय बनेको छ । त्यो पदको लालसा देशलाई भेकका आधारमा वर्गीकरण गरेर हुन्छ वा धर्म जातिका आधारमा तर पदलोलुपता साँधेका साँढेहरू तारुकामा लड्ने माघेगोरु व स्पेनिस बुललाई माथ गर्ने खालको छ । सबैको साझा मनचिन्ते झोलामा मन्त्री वा प्रधानमन्त्री वा लिन सकिने पाउन सकिने पदको व्यग्र मोह र कौतुहलताको लुतो सल्किरहेको देखिन्छ । तर, यो हानिकारक लुतो कहिलेसम्म हेरिरहनुपर्ने हो लोकले ? नेपालीले शदियौंदेखि लुतो फाल्ने दिवस मनाएको भए पनि हुन सक्छ त्यसको शैली वा परिपाटीमा केही खड्कियो कि ? अन्यथा यो विनाशकाले लुतो कन्याइरहेका नेताहरू बग्रेल्ती किन छरिएका ?

राजनीतिक जीवनका लागि सक्रिय कार्यकर्ताको समयावधि वा विरोधमा लागेका कारण बिताएको जेल जीवन वा देशलाई अग्रगामी कोणमा लिएर जाने भिजनका कारण वा राजनीति गर्न सरकार चलाउनलाई प्राविधिक योग्यता भएका कारण वा विषयगत रुपमा अब्बल भएका कारण हुन् अथवा पढ्न अल्छी मानी ढुगांमुढा गर्ने, टायर बाल्ने गरेका कारण, सन्काहा भई अपराधी चरित्र भिरेका कारण वा टोल–टोलमा टालेको पाइन्ट लगाई आफूलाई टोले गुण्डाको ट्याग दिने र सीमा विस्तारका लागि दलको दलाल भई सरकारमा पुग्ने तैल चरित्रका कारण ? चुनावमा धाँधलीको काँचो धुवाँ निकाल्ने भीरमौरी चोर्न सफल भएका कारण वा अपारदर्शी रूपमा कुम्ल्याएको अकुत सम्पत्तिको सुरक्षाका लागि दलको छाता ओढ्ने रंगिन छेपारो अवतारका कारण ! तमाम हत्या आतंक, गुण्डागर्दी मच्चाएका कारण, विदेशी धर्मभीरुका चम्चा बनेर देशको धर्म, संस्कृति सिध्याउने पथमा लागेका कारण वा विदेशीको स्वार्थअनुरूप असमान सन्धि–सम्झौता गरेर राष्ट्रियता लिलामीमा राखेका कारण अन्य केही अदृश्य योग्यताका कारण छन् जसबारे लोकलाई थाहा छैन ?

सम्पत्ति सार्वजनिकीकरण गर्दै गर्दा नेता, सरकारमा रहेका र नरहेका सबैले आफूहरू जुन पदमा छन् त्यहाँ पुग्न उनीहरूको योगदान, योग्यता, सामथ्र्य के हो ? आफ्नै शब्दमा बिनाकुनै लेखनदासको सहायताले दिएको भए केही हदसम्म कौतुहलताको बुर्का अलि खुकुलो हुने थियो । भोग गरिरहेको सम्पत्तिको व्याख्यासमेत गर्न नसक्ने वा गलत विवरण दिनेले आर्जित स्रोतबारे कसरी भन्न सक्ला ? केही समयपहिले प्रधानमन्त्रीको पुख्र्याैली घरको अवस्था हेरेर पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले, ‘हामी नेताहरू जसले भएको सम्पत्ति पार्टीलाई त्याग गरेर यहाँसम्म आइपुग्याँै, अहिले राजधानीमा महल कसरी ठड्याउन सफल भयौं ? यसको सोधखोज गरिनुपर्छ’ भनेर संसद्मै आवाज उठाए तर सबै जनाले हाँसेर उडाए । उक्त गम्भीर चासोलाई प्रधानमन्त्री ओलीका चुट्किलाका चाकाले क्षणकिताका लागि बिर्साए । कोरोना भाइरस ठूलो कृपा बनेर भ्रातृत्वप्रेम दर्शाउँदै दर्शनशैलीमा टुप्लुक्क आइपुग्यो । अवसरवादी, पटके, बेरोजगार, लम्पट, स्वाँठ सदावहारी घुसखोरीहरूका लागि अचुक अवसर बनेर आयो ।

सम्झौं, केही समयपछि देशमा एउटा लोककथा बनेर जनताको मानसपटलमा बसिरहनेछ । मानौं, एकादेशमा एक जना सुँगा टाइपका नेता छन् र उनी गाउँखाने कथा, तुक्का, हिक्का सबैको बेली विस्तारका कारण निकै लोकप्रिय भएका छन् । तिनले भन्ने भट्याउने विषय लोककथाका मिथक हुन् । पैचों लिएका गाउँखाने कथा सुनाएर कथाकारको भेषमा देश खान सफल यिनका हरेक दिन पारिला हुन सकेनन् जसरी उनी दन्तमञ्जन गर्दै हरेक बिहान माइकमा नयाँ कथाका लागि तयार हुन्थे । उनले भन्ने कथा र तिनको स्रोत सीमित थियो । सुँगाको रटानस्केलको सीमा सकिएपछि फेरि सुँगा पुरानै स्मृतिलाई नयाँ ठानेर भन्दै जान्छ तर मालिक असह्य भई घरनिकाला गरिदिन्छ ।

यिनको स्मृति ऐनामा टल्केका कथा सकिएपछि यीनका कथा उखानका मुहान पनि सुके । वास्तवमा परजीवी तर आफूलाई सक्कली कथानायक भन्ने यी नेता हरेक दिन कथा भन्दै गए र देशवासीलाई हसाउँदै गए तर यस्तो पनि दिन आयो जब यिनका कथाका गाथा सकिए किनकि यिनी नक्कली कथा पैंचोमा लिएर भनिरहेका थिए त्यो पनि नक्कली दाँतका सहायताले । एकदिन सधैँझैँ भएन, सक्कली कथाकार सम्मुखमा आयो र नेताका मुखको नक्कली दाँत झिक्यो, उधरा तन्तुकोष सबै फुकाल्यो तर असली कथाकार को रहेछ भन्ने चाल सबै लोकले पाए । सबै नागरिक मिलेर नक्कली नेतालाई खोला तराए, डाँडा कटाए ।

युगौं पुरानो देशनायक फेरि एकपटक सक्कली कथावाचक बनेर आवोस् । देशलाई हृदयमा राखोस् र सात समुद्रपारिका सन्तुलित देशझैं विकासको उध्र्व उडानका लागि इन्धन भरोस् र सुनाओस् सक्कली सुन फल्ने नेपाल देशका सक्कली कथा सारा लोकवासीलाई ।

(निर्मल थापाको समसामयिक व्यंगात्मक लघुकथा इन सर्च अफ अ स्टोरीटेलरको अनुदित अंश)

टिप्पणीहरू