हेलमेट लगाएका मन्त्री धरहरा पुगेर रिसाए

हेलमेट लगाएका मन्त्री धरहरा पुगेर रिसाए

शहरी विकास मन्त्री मेटमणि चौधरीले धरहरा निर्माणमा भएको ढिलाईप्रति असन्तुष्टी जनाउनुभएको छ । आज धरहरा अवलोकनका क्रममा उहाँले ठेकेदार कम्पनीका प्रतिनिधिलाई आफ्नो इज्जतको ख्याल गर्नसमेत भन्नुभयो ।

आयोजना निर्देशक कोषनाथ अधिकारीबाट धरहरा निर्माण आयोजनाको प्रगति विवरण सुनेपछि ठेकेदार कम्पनीका प्रतिनिधितर्फ लक्षित गर्दै उहाँले भन्नुभयो, ‘परियोजना शुरु गर्नुअघि चुनौतीबारे किन ख्याल नगरेको ? चार पटक म्याद थप भैसकेछ । अब कति पटक थप्नुपर्ने ? कम्तिमा आफ्नो इज्जतको त ख्याल गर्नुस् । पैसा मात्र कमाउने खोजेजस्तो नगर्नुस् ।’

पूर्णरुपमा काम सम्पन्न नहुँदै तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई बोलाएर धरहरा उद्घाटन गरिएकोमा पनि मन्त्री चौधरीले असन्तुष्टी जनाउनुभयो । ‘करिब आधामात्र काम हुँदा पनि तत्कालीन प्रधानमन्त्रीलाई उद्घाटनका लागि किन हौस्याउँनुभयो ? मैले पनि त्यस्तै काम गर्न थाले भने रोक्नुपर्ने दायित्व तपाईँहरुको होइन र ?’ सचिवतर्फ हेर्दै मन्त्री चौधरीले प्रश्न तेस्र्याएपछि सबैजना गम्भीर बनेका थिए ।

‘धेरैको आसा भएको ठाउँ हो । काम छिटो गर्नुस् । नत्र पेनाल्टी समेत हुन सक्छ’, मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले पनि ताकेता गर्नुभयो ।

कुल ३ अर्ब ४८ करोड १६ लाख ९१ हजार २३८ रुपैया ४६ पैसाको लागतमा दुई वर्षमा सक्नेगरि सम्झौता भएको धरहरा निर्माण परियोजनाको म्याद चार पटक थप भइसकेको छ भने अन्तिम मिति आगामी असोज मसान्तसम्म छ । हालसम्म भौतिक निर्माणतर्फ ७५ प्रतिशत र वित्तियतर्फ करिब ६६ प्रतिशत काम सम्पन्न भएको जनाइएको छ ।

जिआइइटिसी –रमन जेभी (सम्झौता कम्पनी) का प्रोजेक्ट म्यानेजर संजय नकर्मीका अनुसार ५ रोपनीबाट काम सुरु गरिएको तर नेपाल राष्ट्र बैंकको टक्सार विभाग, हुलाक कार्यालय, कर्मचारी संचय कोषको भवन समेत हटाउँदा धरहरा निर्माण परियोजनाको क्षेत्रफल ४२ रोपनी पुगेकाले बढी समय लागेको हो ।

धरहराभित्र २ वटा लिफ्ट सिस्टम हुने छन् । लिफ्टमा एक पटकमा १० जना चढ्न मिल्ने छ । अर्थात् एकैपटकमा २० जनाले धरहरा चढ्ने अवसर प्राप्त गर्नेछन् । यसअघि स्पाइरल भर्याङ्ग रहेकोमा अब भने तलातला छुट्याइएको छ । साथै धरहरा अपाङ्गमैत्री पनि रहेको छ । डबल बेसमेन्टमा धरहरा ठडिएको छ भने २ वटा स्केलेटर पनि रहेका छन् । ट्रिपल बेसमेन्ट पार्किङ एरियामाथि गार्डेन (ल्याण्ड स्केपिङ),मण्डला, ३ वटा म्युजिकल वाटर फाउन्टेन, टिकट काउन्टर, सिटिङ एरिया, बाइसधारा, फुड कोर्ट (इटरी ब्लक), शौचालय, ४ तले मिन्ट म्युजियम समेत रहने जनाइएको छ ।

पार्किङका लागि ३ तले अण्डर ग्राउण्डको व्यवस्था गरिएको छ । जसमध्ये दुई तलामा करिब २४१ गाडी र बाँकी एक तलामा झण्डै ७५८ मोटरसाइकल रहने गरि व्यवस्था गरिएको छ । पुरातात्विक दृष्टिकोणले मानन्धर गुठीको कुल देवता, पाटी (फाल्चा) बनाइएको छ भने जिर्ण अवशेषका रुपमा रहेको भिमसेन स्तम्भको पनि उचित ढंगले संरक्षण गरिने जनाइएको छ ।

परामर्शदाताका प्रतिनिधि अशोक मल्लले कोभिड र स्थानीय अवरोधका कारण पनि आयोजना ढिला भएको रिपोर्टिंग गरेका थिए ।

स्मरणीय के छ भने तत्कालीन प्रधानमन्त्री केपी ओलीले भौतिकतर्फ ५४ प्रतिशत र वित्तियतर्फ जम्मा ४२ प्रतिशत मात्रै काम हुँदा पनि धरहराको उद्घााटन गर्नुभएको थियो ।

टिप्पणीहरू