एक वर्षमै जाग्यो फेरि सेनाको पृतना

एक वर्षमै जाग्यो फेरि सेनाको पृतना

यसअघि समयानुकूल नभएको भन्दै खारेज गरिएको पृतना मोडलको सांगठनिक सैन्य संरचनालाई फेरि ब्युँताइएको छ । सेनाको सिफारिस र रक्षा मन्त्रालयको जोडबलमा मन्त्रिपरिषद्को भदौ २१ गतेको बैठकबाट उक्त निर्णय गरिएको हो ।

एक वर्षअघि नेपाली सेनाको परिचालन,कार्य प्रकृति र कमाण्ड कण्ट्रोल तथा अन्य सरकारी निकायहरुसँग समन्वयको आवश्यकतालाई मध्यनजर गरी पृतनाको व्यवस्थालाई खारेज गरिएको थियो । तर अहिले त्यही आधारलाई ब्युँताएर ‘नेपाली सेनाको परिचालन,कार्य प्रकृति र कमाण्ड कण्ट्रोल तथा अन्य सरकारी निकायहरुसँग समन्वयको आवश्यकतालाई मध्यनजर गरी’ पृतना व्यवस्था फर्काइएको उल्लेख छ ।

क्याबिनेट निर्णयमा भनिएको छ, ‘नेपाली सेनाको ३ जोड १ कमाण्ड अवधारणा यथावत रहने गरी विगतका पृतनाहरु पुनर्स्थापना गर्ने र ती पृतनालाई अनुसूची १ (विगतमा प्रदान भइरहेको कार्यक्षेत्र) अनुसार जिम्मेवारी तोक्ने ।’ क्याबिनेटले उक्त निर्णयसँगै पृतना,बाहिनी,गण र गुल्महरुको दरबन्दी पुनर्संरचना २०७८ कार्यान्वयन पूर्वको (२०७४) कायम रहने बताएको छ ।

अब सेनामा पहिलेको झैँ पूर्वी पृतना,मध्यपूर्वी पृतना,उपत्यका पृतना,पश्चिम पृतना,मध्य पश्चिम पृतना,उत्तर पश्चिम पृतना र सुदूर पश्चिम पृतना कायम भएको छ ।

जसअनुसार पूर्वी पृतनाअन्तर्गत भोजपुर,धनकुटा,इलाम,झापा, खोटाङ,मोरङ,ओखलढुंगा,पाँचथर र संखुवासभा रहेका छन् । मध्यपूर्वी पृतनाअन्तर्गत अधिकांश मधेश प्रदेशका जिल्ला छन् । जसमा सप्तरी,सिरहा,धनुषा,महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट पर्दछन् ।

त्यसैगरी हेटौंडा मुकाम रहने मध्यपृतनामा काठमाडौं,भक्तपुर र ललितपुरबाहेकका १० जिल्ला समेटिएका छन् । त्यसमा सिन्धुली, रामेछाप, दोलखा, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, रसुवा र मकवानपुर पनि आउँछन् ।

उपत्यका पृतनामा काठमाडौं उपत्यकाका तीन जिल्ला र पश्चिम पृतनामा बागलुङ, गोरखा, कास्की, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, नवलपरासी (बर्दघाट,सुस्ता पूर्व), पर्वत, स्याङ्जा र तनहुँ हुन् ।

मध्यपश्चिम पृतनामा कपिलवस्तु, नवलपरासी (बर्दघाट, सुस्ता पश्चिम), रुपन्देही, अर्घाखाँची, गुल्मी, पाल्पा, दाङ, बाँके, बर्दिया, प्युठान, रोल्पा, रुकुम (पूर्वी भाग) छन् भने उत्तर पश्चिम पृतनामा रुकुम (पश्चिम भाग), सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, सुर्खेत, दैलेख, जाजरकोट राखिएको छ ।

सदूर पश्चिम पृतनाअन्तर्गत कैलाली, अछाम, डोटी, बझाङ, बाजुरा, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला रहनेछन् ।

टिप्पणीहरू