कसरी थला पर्यो मनकामना ?
कोरोना महामारीले सर्वत्र पारेको असर र संकट झन गहिरिएर गएको छ । यसले सबैभन्दा धेरै आर्थिक क्षेत्रलाई थिलथिलो पारेको छ ।
यसअघि आम्दानी र राजश्वको हिसाबले राम्रो मानिएका कतिपय व्यवसाय महामारी र लकडाउनले ठप्प भएका छन् । झन् त्यसमा पनि धार्मिक क्षेत्रसँग सम्बन्धित व्यवसाय दोहोरो मारमा परेका छन् । पछिल्लो आठ महिनामा मात्र मनकामना केबलकारले झण्डै ४४ करोड रूपैयाँ आम्दानी सोझै गुमाएको छ । त्यसबाट सरकारलाई प्राप्त हुने राजश्ववापत साँढे पाँच करोड रूपैयाँभन्दा बढी र केबलकारको नाफाबाट राज्यले प्राप्त गर्ने १६ प्रतिशत बराबरको आयकर पनि गुमेको छ ।
उता स्थानीय गाविसले केबलकारको नाफाको २ प्रतिशत शुल्क पनि पाउन सकेनन् । आम्दानी र राजश्वको रकम प्रत्यक्ष देखिएको घाटा मात्र हो । तर,केबलकार बन्द हुँदा त्यससँग जोडिएका अन्य व्यवसायलाई पनि त्यत्तिकै असर परेको छ ।
यसबीच केबलकारका एजेण्टहरूले पाउने आम्दानी गुमेको छ । यातायात व्यवसाय र विभिन्न सामान आपूर्ति गर्ने सप्लायर्सहरूको आम्दानीमा धक्का लागेको छ । सबैभन्दा धेरै चितवनको कुरिनटार र गोरखाको मनकामना वरिपरि रहेका सयौं होटल र रेष्टुरेण्टको हालत चौपट बनेको छ । विशेषगरी मनकामना वरिपरीका होटलका सबैजसो कोठामा ढुसी पर्न थालेको छ । प्राप्त आँकडाअनुसार मनकामना वरिपरीका होटलहरूमा मात्र तीन हजारको हाराहारीमा बेड छ ।
सँधै खचाखच हुने ती बेडहरू झण्डै आठ महिनादेखि रित्तो देखिन्छन् भने होटलहरू खण्डहरमा परिणत भएका छन् । औसतमा रातको नौ सय रूपैयाँ पर्ने ती बेडहरूबाट मात्रै होटल सञ्चालकले दैनिक २७ लाख रूपैयाँसम्म आम्दानी गर्थे ।
खानपिन र अन्य खर्चबाट त्योभन्दा बढी आम्दानी हुने मनकामनाका व्यवसायीहरू अहिले पुर्पुरोमा हात राखेर बस्न बाध्य भएका छन् । सङ्क्रमणलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्ड अपनाउँदै कात्तिक १ गतेदेखि दशैंभरि मनकामना मन्दिर खोल्ने निर्णय गरिए पनि होटल व्यवसायीहरू व्यवसाय सञ्चालनको लागि तयार देखिएनन् । अधिकांश अन्यत्रबाट आएका व्यवसायीहरूले पेशा छाडेर हिँड्न थालेको समेत बताइन्छ ।
यता, मनकामना केबलकारले १ सय ३० जनालाई रोजगारी दिएको छ । तिनको पनि रोजिरोटीमै धक्का लाग्ने सम्भावना बढ्दै गएको छ । गत वर्षको नाफाबाट अहिलेसम्म सञ्चालन खर्च ब्यहोरे पनि आगामी दिनको व्ययभारका लागि केबलकार थप अप्ठेरोमा पर्नसक्ने स्रोतले बताएको छ । अहिले व्यावसायिक सञ्चालनमा नल्याएपनि प्राविधिक रूपमा दुरुस्त राख्न केबलकारलाई सातामा एकाध पटक तताउनै पर्ने भएकाले झण्डै दुई लाख रूपैयाँको बिजुलीको बील आउने गरेको बताइन्छ ।
प्राविधिकलगायतका अत्यावश्यक कर्मचारीलाई समेत काममा खटाउँदा आम्दानी शून्य हुँदा पनि पछिल्लो आठ महिनामा मासिक न्यूनतम ५ लाख रूपैयाँभन्दा बढी खर्च भएको केबलकारका अधिकारीहरूले बताएका छन् ।
टिप्पणीहरू