शपथ नखाँदै मन्त्री अस्पतालमा

शपथ नखाँदै मन्त्री अस्पतालमा

सामान्य प्रशासन तथा सँघीय मामिला र स्थानीय विकास मन्त्री गणेश ठगुन्ना दुई साताभन्दा लामो समयदेखि कोरोनाको उपचार निम्ति मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा हुनुहुन्छ ।

उहाँ पछिल्लो पटक मन्त्री बने पनि शपथ ग्रहण गर्न पाउनुभएको छैन । शपथ ग्रहण अगावै कोरोना पुष्टि भएपछि मन्त्री ठगुन्ना अस्पताल भर्ना हुनुभएको हो ।

सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीहरूलाई पनि कोरोना लागेको छ । झण्डै दुई सय जना कर्मचारी रहेको मन्त्रालयमा ३० भन्दा बढीलाई संक्रमणले छोएको छ । आवश्यकताअनुसार कर्मचारीलाई बोलाएर काममा लगाए पनि उनीहरू संक्रमित बनेको बताइन्छ । हालसम्म चार जना उपसचिवलाई कोरोना परीक्षणमा पोजिटिभ देखिएको छ ।

यता,सरकारले हिजो घोषणा गरेको नयाँ आर्थिक वर्षको बजेटमा सिभिल अस्पतालको सेवा विस्तारमा जोड दिइएको छ । विशेषगरी कर्मचारीको सामाजिक सुरक्षा कोषको निम्ति छुट्याइएको १ दशमलव ५ प्रतिशतको आधा रकम निजामती कर्मचारी कल्याण कोष स्थापना गरेर त्यो रकम अस्पतालको सेवा विस्तारमा प्रयोग गरिने भनिएको छ ।

कर्मचारीको लागि बेड संख्या तोकेर छुट्याइने छ भने काउण्टर समेत छुट्टै बनाइने छ । त्यसैगरी सात वटै प्रदेशमा रहेका प्रदेश अस्पतालसँग समन्वय गरेर निजामती कर्मचारीको उपचार प्रबन्ध मिलाउने बताइएको छ ।

टिप्पणीहरू