जसपा फेरि फुटतर्फ,भट्टराईले बहुमत बटेलेको उल्टो दाबी

जसपा फेरि फुटतर्फ,भट्टराईले बहुमत बटेलेको उल्टो दाबी

जनता समाजवादी पार्टी नेपाल (जसपा) मा अर्को फुटको खतरा निम्तिएको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टाराईबीचको शक्ति संघर्षले विभाजनको वर्ष दिन नपुग्दै जसपा फेरि विभाजनको डिलमा पुगेको हो।

भट्टराई पक्षले पार्टीमा एकलौटी गरेको भन्दै यादवविरुध्द संख्या जुटाउन थालेको छ । ‘समावेशी र सामूहिक नेतृत्व’ को मागलाई सम्बोधन नगरेको आरोप लगाउँदै केन्द्रीय कार्यकारिणी,संघीय सांसद र केन्द्रीय समितिमा भट्टराई पक्षधरले यादवमाथि दबाब बढाएका हुन् ।

‘समावेशी र सामूहिक नेतृत्वको मागलाई सम्बोधन गर्नका लागि अध्यक्ष (यादव) ज्यूले आनाकानी गरिरहनु भएको छ । तर,सो मुद्दाको पक्षमा पार्टीभित्र स्पष्ट बहुमत जुटेको छ,’ असन्तुष्ट केन्द्रीय नेता मोहम्मद इस्तियाक राइनले भने,‘बहुमतको निर्णय मान्नु हुन्छ कि एकल रूपमा चल्नु हुन्छ ? त्यसको निर्णय गर्ने जिम्मा अब अध्यक्षज्यूको काँधमा छ ।’

उनका अनुसार बहुमतको निर्णयलाई स्वीकार गरेर अध्यक्ष यादव समावेशी र सामूहिक नेतृत्वका लागि तयार हुनुपर्नेछ । तर,अध्यक्ष यादवसँग असन्तुष्ट राइनले बहुमत जुटाएको आधार भने दिन मानेनन् ।

एक नेताको उल्टो दावीअनुसार कार्यकारिणी समितिमा असन्तुष्ट पक्षको नेतृत्व गरिरहेको भट्टराई समूहसँग २१ र यादवको पक्षमा आठ जना छन् भने ११ जना सांसद भट्टराईको पक्षमा खुल्दा यादवलाई आठ जना सांसदले मात्र साथ दिइरहेका छन् । यसैगरी, केन्द्रीय समितिका ३०४ असन्तुष्ट समूहमा खुल्दा यादवलाई भने २०३ सदस्यले मात्र साथ दिएको भट्टराई निकट नेताले जानकारी दिए ।

भट्टराईसहित अशोक राई, महेन्द्रराय यादव,राजकिशोर यादव, मोहम्मद इस्तियाक राइन, प्रदिप यादवलगायतका नेताहरू यादवविरुद्दको मोर्चाबन्दीमा छन् । ‘बहुमतको निर्णय अस्वीकार गरेको खण्डमा अध्यक्ष यादवविरुद्ध कठोर निर्णय लिन हाम्रो समूह तयार छ,’ भट्टराई निकट ती नेताले भने, ‘सामूहिक नेतृत्वमा जसपा नगई सुखै छैन । यसको संरचना नै समावेशी र समानुपातिक प्रतिनिधित्व झल्काउने हो, यो अब झल्किनुपर्छ ।’

उनका अनुसार आइतबार लाजिम्पाटमा बसेको शीर्ष नेताहरू यादव,भट्टराई,अशोक राई,राजेन्द्र श्रेष्ठसहितको बैठकमा ‘समावेशी र सामूहिक नेतृत्व’ स्वीकार गर्न अध्यक्ष यादवमाथि दबाब बढाइएको छ ।

टिप्पणीहरू