मान्छेको लाशमा पनि जात खोज्नेहरु

मान्छेको  लाशमा पनि जात खोज्नेहरु

नेपाल जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्र घोषित भएको डेढ दशक बितिसकेको छ । सरकारले दलितको हकअधिकार सुनिश्चित गर्न र उनीहरूमाथि हुने विभेद अन्त्यका निम्ति धेरै कानून निर्माण गरिसकेको छ ।

विभेद केही घटेको छ । तर, पूर्ण रूपमा हटिसकेको छैन । दलितलाई हेर्ने सामाजिक दृष्टिकोण अझै पनि फेरिन सकेको छैन । दलित समुदायले बाँचुञ्जेल भोग्ने विभेदबारे थाहा नहुने सायद कमै होलान् । तर, मृत्युपछि समेत दलितमाथि जातकै आधारमा विभेद भइरहेको छ । 

नेपाली समाजमा एउटा उखान छ, ‘जिउँदाको जन्ती, मर्दाको मलामी’ । मृत्यु संस्कारमा जाने शवयात्री नै मलामी हो । 
तर, जातीय विभेदले जकडिएको हाम्रो समाजमा बाहुन मर्दा दलितलाई र दलित समुदायका कुनै व्यक्तिको मृत्युपश्चात् ठूला जातिलाई मलामी जाने प्रोत्साहित गरिँदैन । मान्छे मर्दा पनि जातकै अहम् र लघुताभाष देखाइन्छ । यतिसम्म कि दलितको शव उठाउन पनि पापै लाग्नेजस्तो गर्छ, समाज । सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर ७, बस्ने ६५ वर्षीया कृष्णमाया पहाडी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिइन् । 

दुवै छोरी विदेशमा छोरा काठमाडौंमा ज्याला मजदुरी गर्छन् । हिन्दु संस्कारअनुसार मृत्यु भएपछि पु¥याइने एकमात्र ठाउँ हो, घाट । त्यहाँ दाहसंस्कारको विधिविधान पुरा गरिन्छ । तर, अहिले पनि ठूला जातिहरू दलितको शव बोक्न मान्दैनन् भने बाहुन, क्षेत्री, बित्दा दलितलाई छुन दिन्नन् । पहाडीको हकमा पनि यस्तै भयो । उनको निधनपश्चात् गाउँलेसँग हारगुहार गरियो । तर, फरक जातिको लाशलाई छुन नहुने भन्दै केही मानिस पन्छिए । वडाध्यक्ष युवराज पहाडीका अनुसार मृतकको घरदेखि झण्डै दुई घण्टा टाढा घाट छ । 

त्यति लामो बाटोमा एउटैले मात्र शव उठाउन नसक्ने भएपछि उनले गाउँलेसँग सहयोग मागे । तर, उनीहरूले आफ्नो संस्कृतिले नदिने भन्दै लाश बोक्न मानेनन् । ‘छोरा एक्लैले त्यति लामो बाटोसम्म शव बोक्न नसक्ने हुँदा गाउँका दलितसँग सहयोग माग्यौं । तर, उहाँहरूले हाम्रो संस्कारले दिँदैन, बोक्न मिल्दैन भन्नुभयो । त्यसपछि हामी आफैँले बोकेका हौँ,’ उनले भने । पहाडीले थपे, ‘एउटा मान्छे मर्दासमेत जात र संस्कृतिको कुरा गर्ने समाजले कुन संस्कार मान्दै छ ! मान्छे मर्दा पनि जातभातको कुरा गर्ने यो समाजसँग म लज्जित छु ।’

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू