चुनाव गराउन नसकेपछि पत्रकार महासंघका अध्यक्षले बुझाए राजीनामा

चुनाव गराउन नसकेपछि पत्रकार महासंघका अध्यक्षले बुझाए राजीनामा
सुन्नुहोस्

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएका छन् । उनले महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाएको जनाइएको छ । तेस्रो पटक तोकिएको समयमा पनि महासंघको निर्वाचन हुने निश्चित नभएपछि पोखरेलले राजीनामा दिएका हुन् । 

यसअघि दुई पटक तोकिएको समयमा चुनाव हुन नसकेपछि महासंघको निर्वाचनका लागि तेस्रो पटक मिति तोकिएको छ । तर, उक्त समयमा पनि निर्वाचन हुने कुनै छाँटकाँट नदेखेपछि अध्यक्ष पोखरेलले राजीनामा दिएको जनाइएको छ । 

उनले निर्वाचन गराउन नसक्नु आफ्नो कमजोरी रहेको स्वीकार्दै यसले मानसिक र शारीरिक स्वास्थ्यमा समेत असर पारेकोले पदबाट राजीनामा दिएको बताएका छन् । ‘यी सबै अवस्था आउनुमा मेरो कमजोरीलाई स्वीकार गर्दै सबै कुराको नैतिक जिम्मेवारी समेत बहन गर्दछु । मेरो मानसिक तनाव र शारिरिक स्वास्थ्य अवस्था समेत सहज रुपमा काम गर्न सक्ने अवस्थामा छैन । तसर्थ, विधानले प्रदान गरेको अध्यक्षको सम्पूर्ण (आर्थिक समेत) जिम्मेवारी बहन गर्ने गरी कार्यवाहक अध्यक्षका रुपमा जिम्मेवारी दिँदै आजकै मितिदेखि लागू हुने गरी अध्यक्ष पदबाट राजीनामा दिएको छु,’ पत्रमा भनिएको छ । 

अध्यक्ष पोखरेलले महासंघको निर्वाचन गराउनका लागि आफुले पहलकदमी लिइरहेको भएतापनि चुनावको मिति तोकिएको झण्डै एक हप्तासम्म कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवाद समाधानका लागि बोलाइएको बैठकबाट पदाधिकारी र सदस्यहरु बाहिरिनु, केहीले उपस्थितिमै हस्ताक्षर नजनाउनु तथा सिंगो बैठकले सदस्यताको सुचिप्रति अपनत्व जनाउन आनाकानी गर्नुले पनि चुनाव समयमै हुन नसकेको बताएका छन् । 

‘बाह्य सरोकारवाला पक्षहरुले समेत सदस्यता सूचि आफुलाई देखाएर मात्र अघि बढ्नुपर्ने अपेक्ष अझै पनि कायम राखिराख्दा झनै मन खिन्न हुन भएको छ,’ उनले पत्रमा उल्लेख गरेका छन, ‘यस्तो अवस्था आउनुबाट ममा निर्मित मनोविज्ञान बोकेर यो निर्वाचनलाई सम्पन्न गर्न म समर्थ छैन ।’
 

टिप्पणीहरू