‘साउनमा आँखा फुटेको गोरु सँधै हरियो देख्छ’

‘साउनमा आँखा फुटेको गोरु सँधै हरियो देख्छ’

–अनामिका उपाध्याय

नेकपाको एक समूहका नेता तथा पूर्वप्रधानमन्त्रीलाई चौपायासँग तुलना गर्नु हुन्थ्यो कि हुन्नथ्यो, तर यो नेपाली जनजीवनमा अत्यन्त चलनचल्तीको उखानसँग तिनको कुरा मिलेर त्यो पशु पनि त्यसै जोडिइहाल्यो ।

माओवादीका मेयर–उपमेयर एमालेमा पस्ने भन्ने सुनेर हाम्फाल्दै यस गर्मीमा विराटनगर पुगेका खड्गप्रसाद शर्मा ओली हरियो रङसित  तर्सिएको देखेर हाँस्न मन लाग्यो र आफूलाई कोइली जत्तिकै निकै बाठो ठान्ने यिनको निरीहता देखेर दया पनि लाग्यो ।

राजनीतिकसभा भएको र चुनाव पनि घोषणा भइसकेका अवस्थामा चुनावलाई प्रभाव पार्ने गरी भएको माओवादीको एमाले प्रवेश कार्यक्रममा एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसको चुनाव रुख हरियो हुनाले मतपत्रको रङ त्यो रङसँग मिल्दो हुन्न भनी रोइकराइ गरेछन् ।

“कांग्रेसलाई फाइदा पुग्ने गरी उसको चुनाव चिह्न बूढो रूख बचाउन निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको छ”, कागका फुल चोर्ने कोइलीरूपी बाठो मान्छेले यस्तै वाक्य बोलेपछि साउन(भदौ)मा आँखा फुटेको गोरुसँग दाँज्न कुनै पनि नेपाली जनलाई करै लाग्छ ।

तिनका चेतना औ विवेकका आँखा त त्यही पुस ५ गते फुटिसकेको थियो जुन दिन तिनका कोरी सल्केका हातले झण्डै दुई तिहाइको वामपन्थी बाहुल्यको संसद्लाई गलहत्याएको थियो । फेरि अर्काे वर्ष जेठ ७–८ गते राति कीरा परेका हातसरहले दोस्रो पटक जनताको संसद् विघटन गर्न पुगेको थियो ।

त्यतिले नपुगी फागुन २३ गते नेकपा फुटेपछि फागुन २८ गते आफूलाई मन परेका मानिसलाई केन्द्रीय कमिटीको बैठक भनेर डाकी मन नपरेकालाई बोलाउँदै नबोलाई सुटुक्क कमिटी फेरबदल गरेको थियो ।

प्रतिनिधिसभालाई न्यायालयले ब्युँताइदिएपछि यिनको होशहवास नै ठाउँमा रहेन र त्यसपछि यिनले आफ्ना सहकर्मी र आफूसरहका आफ्नै दलका नेताहरूलाई कस्ता कस्ता शब्द प्रयोग गरे, दुनियाँलाई थाहा छ ।

उखानटुक्काबाट आफ्नो भृत्यतन्त्रलाई हँसाउने यिनले आफू पाताल भासिएको रीस पोख्न केही बाँकी राखेका छैनन् । एकातिर सरकार जानु, अर्कातिर नेकपा फुट्नु र एमालेबाट नेकपा(एस)जन्मेर ख्याउटे भएको आफ्नो पार्टी अनुहार यिनका फुटेका आँखाले नदेख्नु स्वाभाविक पनि हो ।

भदौदेखि लिँडेढिपी गरेर कि सभामुखले राजीनामा दे, कि १४ जनालाई कारवाही गर भन्दै यिनका छोराछोरीले संसद्मा गरेको तमासा हेर्न नसकेर लाजले नेपाली जनता पानीपानी भएको पनि यिनका नयनले देखेका छैनन् ।

मुलुकको इतिहासलाई नै कायापलट गर्ने एमसिसी पारित भएको १० दिन बितिसक्दा पनि यिनका मुखबाट सही र गलत भन्न सक्ने बोली फुट्दैन । अझ एमसिसीका निहुँमा कांग्रेससँग मिलेर सरकार बनाउने र माओवादी–एसलाई तह लगाउने यिनको दिवास्वप्न त एकदिनमै तुहिगो ।

राष्ट्रको भविष्यसँग गाँसिएको एमसिसी अनदेखा गर्दै कुना फर्कने यिनले के कूटनीति र विश्वसम्बन्ध पढेका रेछन् र गृह, परराष्ट्रमन्त्री र प्रधानमन्त्रीसम्म भए भन्नू ? पछिल्लो पाला त उतैका प्रभुले पो चलाए कि ?

चुनाव छिट्टै आउँदै छ र यिनी न्वारानदेखिको बल लगाएर गठबन्धन फुटाउन खोजिरहेछन् । राष्ट्रियसभाको १९ सिटको चुनावमा जम्मा एक सिट जितेको(त्यो पनि चिठ्ठा परेर) टुलुटुल हेर्नुपर्दाको बिजोग ताजै छ ।

त्यसमाथि निर्वाचन आयोग हरियै रङको पो ताबेदारी गर्छ । अझ उनका महासचिव शङ्कर पोखरेलले कि रुखमा कि घाममा भोट हाल्नू भनेर दुनियाँलाई भनिसके । आफूलाई मात्र भोट देऊ भन्न सकेनन् बिचराले पनि । चुनावका अनेक प्रक्रिया बाँकी नै छन्, प्रचारप्रसारका तामझाम बाँकी नै छन् ।

हैन, अहिले नै सबैतिर हरियै हरिया देख्ने यिनका पार्टीले त्वम् शरणम् गरिसकेको हो र ? निर्वाचन आयोगमा आफ्नै मान्छे राख्दा त यस्तो गति छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि चङ्गा भएर ओम्नी, यती र रु ७० करोड खोतल्न लागे यिनको के गति हुँदा हो ? दुःख पाइस् मङ्गले, आफ्नै ढङ्गले !

टिप्पणीहरू