लमजुङको गठबन्धन पुस्तकालयमा,काँग्रेस पालिकामा

लमजुङको गठबन्धन पुस्तकालयमा,काँग्रेस पालिकामा

लमजुङको सदरमुकाममा बेसीशहरस्थित लक्ष्मीनारायण पुस्तकालयमा हिजो दिउँसो नेपाली काँग्रेस बैठक बस्यो । यसअघि चैत २२ गते जिल्लाका चार दलले गठबन्धन बलियो बनाएर जाने र सहमतिमा उम्मेदवार टुंगो लगाउने भनेका थिए । तर काँग्रेसले नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी र जसपालाई वास्ता नगरी धमाधम प्रमुख र उपप्रमुखको छिनोफानो गर्ने क्रममा हिजो दिउँसो बैठक डाकेको थियो ।

बैठकमा काँग्रेसीहरुबीच नै रस्साकस्सी चलेको बताइन्छ । बेसीशहर नगरपालिकाको प्रमुखमा छ जना आकांक्षीमध्ये जीवनकुमार श्रेष्ठ र कृष्णबहादुर अधिकारी एकले अर्कालाई छाड्न तयार देखिएका छन् । तर लामो समयसम्म लमजुङ विद्युत उपभोक्ता समितिको अध्यक्षमा बसेर अहिलेसम्म नेपाल विद्युत प्राधिकरणलाई तिर्नु पर्ने बक्यौता रकम नतिरेको,लाखौं रकम हिनामिना पारेको आरोप लागेका श्रीकान्त घिमिरे र पार्टी प्रदेश कमिटी सदस्य हरि बरालले भने एकले अर्कालाई कुनै हालतमा स्वीकार्न नसकिने अडान लिएका छन् ।

मेयरका आकांक्षीको विषय जिल्लाले टुंगो लगाउन नसके प्रदेश र प्रदेशले पनि नसके केन्द्रले तोक्ने भएपछि शक्ति केन्द्रको धाकधक्कु लगाएर घिमिरेले टिकट हत्याउन खोजेको अरुको आरोप छ । बाँकी दुई आकांक्षी बिर्खराज गुरुङ र सुप्रिया जोशीको कसैले वास्ता गरेको देखिँदैन ।

काँग्रेसको बैठक सदरमुकाममा भए पनि एमालेका जिल्लास्तरीय नेताहरु बैठकको निम्ति मस्र्याङ्दी गाउँपालिका–८ मा रहेको पिस हिल रेष्टुरेन्ट पुगेका छन् । केन्द्रिय सदस्य तथा लमजुङ्ग इञ्चार्ज मायानाथ अधिकारी, सह–इञ्चार्ज जमिन्द्रमान घले, गण्डकी प्रदेश सचिव धनञ्जय दवाडी, जिल्ला अध्यक्ष तथा बेसीशहर नगरपालिकाका तीव्र आकांक्षी कृष्णप्रसाद अधिकारी, सचिव सुभाष पौडेललगायतका नेताहरु बिहान १० बजे नै त्यहाँ पुगेका हुन् ।

यता, अस्ति र हिजो दिनभरि जस्तो पार्टी कार्यालयमा बसेको माओवादी केन्द्रको बैठकले कुनै निर्णय सार्वजनिक गरेको छैन । बेसीशहर नगर कमिटीका अध्यक्ष देवबहादुर गहतराज आफूहरुले दुई वडा अध्यक्ष र उपप्रमुखको दाबी गरेपनि काँग्रेसले उपेक्षा गरेर गए गठबन्धन हुनै पर्छ भन्ने पक्षमा नरहेको बताए ।

-अञ्जनकुमार 

टिप्पणीहरू