भिवण्डी जहाँ नारकीय जीवन भोग्छन् फूलमालाहरु यौन संसारको त्यति ठूलो बजार होइन– भिवन्डी

भिवण्डी जहाँ नारकीय जीवन भोग्छन् फूलमालाहरु यौन संसारको त्यति ठूलो बजार होइन– भिवन्डी

मुम्बईमा अन्यत्रै भीडभाडयुक्त थुप्रै ‘रेड लाइट एरिया’ छन् । जहाँ जो–कोही सजिलै पुग्न र यौनकर्मीको वास्तविक कथा टिप्न सक्दैनन् । यौनकर्मीसँग गफिन र हिँड्डुल गर्न सरल मानिन्छ,भिवन्डी । बेचिएका नेपाली महिलाहरुका अनुसार त्यहाँको कोठीमा करिब तीन सयभन्दा बढी यौनकर्मी छन् । भलै, कोरोना संकटपछि ‘देहव्यापार’मा फर्किने महिलाको संख्यामा कमी आएको नेपाली मूलका स्थानीय पत्रकार प्रवीण सिंह बताउँछन् ।

मुम्बई कहिल्यै सुत्दैन । लाखौं युवा–युवती रहरलाग्दो सपना र आशा बोकेर दिनदिनै आउँछन्। त्यसो त काभ्रेकी फूलमाया पनि कान्तिपुरी शहरबाट एक दशकअघि ‘माया नगरी’ आइन् । फूलमाया आफ्नो भाग्य परिवर्तन गर्न कल्याण शहरमा उत्रिइन् । तर उल्टो जीवन बिताउन बाध्य भइन्।

नशामा मात्तिएको हिंसात्मक पुरुषबाट हजारौं पटक मनोरञ्जनको पात्र बनेकी उनी यौनकर्मबाट अवकाश लिएर बसेको ठट्यौली शैलीमा बताउँछिन् । उनी एकताका रोएरै बाँचेको भिवन्डी बजारमा हजार वर्ष पुराना भवनहरू छन् । तर ती अग्ला र पुराना घरभन्दा कैयौं गुणा ठूला बेदना र पीडाभित्र हराइरहेका छन्, यौनकर्मी ।

सत्ताइस लागेकी फूलमाया काेराेना महामारीकाे माैका छाेपेर काेठीबाट भागिन् । लगत्तै भारतीय युवकसँगै वैवाहिक बन्धनमा बाँधिइन् । उनीहरूले अहिले कल्याण शहरमा एउटा सानाे ढावा चलाइरहेका छन् । फूलमायाका श्रीमान धेरै बाेल्दैनन् । तर खुरुखुरू आफ्नो काम गरिरहन्छन् ।

‘मनभित्रको घाउ जति छिपाए नि छिप्दैन । हुन त देखाउदिनँ भन्छु तर हृदय पोलिहाल्छ । एक समय मेरो ज्यानले पाउनु दुःख पायो । भाग्य नै यस्तै रहेछ,’फूलमायाले आफ्नो विगत सुनाइन्।

टिप्पणीहरू