१२२ देश मोड्ने तागत हो : प्रचण्ड

१२२ देश मोड्ने तागत हो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी राष्ट्रिय राजनीतिको निर्णायक तेस्रो शक्तिका रुपमा स्थापित भएको बताउनुभएको छ । माओवादीले प्राप्त गरेको १२२ तहको जितले देशलाई दिशावोध गर्ने उहाँको दाबी छ।

माओवादी केन्द्रबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई तालिम दिँदै उहाँले भन्नुभयो, ‘हामी १२२ (स्थानीय तह) मा छौं । १२२ त्यस्तो १२२ हो, राजनीतिलाई प्रभावित पार्न सक्ने, देशलाई कता मोड्ने हो त्यतै मोड्नसक्ने तागतसहितको तेस्रो छौं हामी ।’

माओवादी केन्द्र दोस्रो दल बन्ने स्थिति हुँदाहुँदै पनि चुनाव तयारीका लागि समय अभाव र अघिल्लो चुनावमा जितेका धेरै पालिका गुमाउनु परेकाले तेस्रो भएको पनि प्रचण्डको भनाइ छ । २०७४ सालमा मधेस र पहाडमा जितेका स्थानीय हार्ने स्थिति नभएको भए सजिलै दोस्रो दल हुने उहाँले बताउनुभयो ।

‘तल (गाउँ/नगरपालिकामा) गएपछि त झण्डैझण्डै गठबन्धन नहरेको देखियो । जहाँ हामी बलियो छौं,त्यहाँ के कांग्रेस,के एमाले के विप्लव ? के–के सबै … । गठबन्धनमा भएका पनि सबै । गठबन्धनमा नभएका पनि सबै मिलेर माओवादीलाई हराउने प्रयास गरियो’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘रोल्पा,कालिकोट,अरु पनि थुप्रै ठाउँमा । तर, पनि ती ठाउँहरूमा हामीलाई नै जनताले भरोसा गरे ।’

यद्यपि,प्रचण्डले गठबन्धन पूरै असफल भयो भन्न नचाहेको बताउनुभयो । एमालेलाई पहिलो हुनबाट छेक्ने उद्देश्य पूरा भएको सङ्केत गर्दै भन्नुभयो, ‘जुन उद्देश्यका लागि गठबन्धन बनेको थियो, त्यो उद्देश्य प्राप्त भएको छ ।’

अब हुने प्रदेश र सङ्घीय निर्वाचनमा भने गठबन्धनभित्र माओवादीको स्वरुप बदल्नुपर्ने पनि प्रचण्डको भनाइ छ । यसअघि अलिक बढी उदार र अलिक बढी गठबन्धनप्रति भरोसा गरेकोमा अब त्यसो नहुने उहाँले बताउनुभयो ।

टिप्पणीहरू