सशस्त्रका एसएसपी राष्ट्रसंघको उपल्लो तहमा पुग्दै

सशस्त्रका एसएसपी राष्ट्रसंघको उपल्लो तहमा पुग्दै

संयुक्त राष्ट्रसंघको प्रोटेक्सन अफ सिभिलियन साईट कोअर्डिनेटर पदमा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठ छानिएका छन् । ग्लोबल भ्याकेन्सीअन्तर्गत खुल्ला प्रतिस्पर्धाबाट उत्कृष्ट ठहरिएर उनी छनौट भएका हुन् ।

दक्षिणी सुडानस्थित राष्ट्रसंघीय शान्ति स्थापना मिसनमा रिक्त पिओसी कोअर्डिनेटर (पी ४) को निम्ति गत सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको प्रहरी डिभिजनले गरेको विज्ञापनमा नेपालको तर्फबाट श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । धेरै वटा मुलुकका प्रतिस्पर्धीमध्ये परीक्षाका विभिन्न चरण र अन्तर्वार्तापश्चात् उनलाई छनौट गरिएको हो ।

दक्षिणी सुडानको शान्ति मिसनअन्तर्गत यो तहका कुनै पनि पदमा नेपाली अधिकृतहरु छनौट भएको यो नै पहिलो पटक हो । श्रेष्ठ सशस्त्र प्रहरी बलको खुल्ला प्रतिस्पर्धाबाट सो पदमा छनौट भएका अधिकृतहरुमध्ये समेत पहिलो भएका छन् । 

उनी सशस्त्र प्रहरी बल स्थापनापश्चात पहिलो ब्याचको निरीक्षक पदमा सेवा प्रवेश गरेर सर्वोत्कृष्ट भएका थिए । उनले यसअघि साउथ सुडान मिसनमा एक वर्ष एफपीयू कमाण्डरको रुपमा काम गरिसकेका छन् । 

त्यसैगरी संयुक्त राष्ट्रसंघ शान्ति स्थापना मिसन लाइबेरिया र राष्ट्र संघको सहयोग मिसन इराकमा समेत नेपालको प्रतिनिधित्व गरेर काम गरिसकेका छन् । हाल सशस्त्र प्रहरी बलको कमाण्डेण्ट तालिम केन्द्र पोखरामा कार्यरत छन् । डिआइजी बढुवाको मुखैमा सँगठन र  तालुकवाला मन्त्रालयले उनलाई फुली थपेर अझ इज्जतिलो हिसाबले काम गर्न हौसला देला या यहाँनेर पनि छिर्केदाउ चल्ला !

टिप्पणीहरू