प्रधानमन्त्रीलाई पछि नहट्न विप्लवको सुझाव, सहमति कार्यान्वयन नभएकोमा दुःखेसो
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान दुईजनाबीच कुराकानी भएको बताइएको छ ।
भेटमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे छलफल भएको विप्लव प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए । उनका अनुसार विप्लवले चीन भ्रमणको क्रममा राष्ट्रहित अनुकूलको सम्झौता गर्नबाट पछि नहट्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
त्यस्तै, तत्कालीन सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयन सम्बन्धमा पनि भेटवार्तामा छलफल भएको बताइएको छ । सहमति कार्यान्वयनमा ढिलाइ भएको भन्दै प्रधानमन्त्रीसँग विप्लवले असन्तुष्टि जनाएको विश्वकर्माले बताए ।
तीन बुँदे सहमति कार्यान्वयन हुनुको उल्टै आफ्ना नेता–कार्यकर्ताहरू पक्राउ परिरहेको भन्दै विप्लवले प्रमुख राजनीतिक दलका शीर्ष नेतासंग सरोकार राख्दै आएका छन् । आजको भेटमा प्रधानमन्त्री ओलीबाट तीन बुँदे सहमति कार्यान्वयनमा सरकार दृढ भएको जवाफ पाएको विश्वकर्माले जानकारी दिए ।
केपी ओली यसअघि प्रधानमन्त्री भएका बेला २०७७ फागुनमा सरकार र नेकपाबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएको थियो । तर, कारागारमा रहेका नेकपाका नेता–कार्यकर्ता रिहाई गर्ने सहमतिको महत्वपूर्ण बुँदा कार्यान्वयन नभएको विप्लव समूहको गुनासो रहँदै आएको छ ।
टिप्पणीहरू