जिल्लाबाट तानिएका फौजी हाकिमहरुमाथिको छानबिन कहाँ पुग्यो ?

जिल्लाबाट तानिएका फौजी हाकिमहरुमाथिको  छानबिन कहाँ पुग्यो ?

सीमा क्षेत्रमा अवैध ओसारपसार गर्नेसँग साँठगाँठ गरेको,गैह्र पेशागत विभिन्न गतिविधिमा संलग्न भएको आरोप लागेपछि सशस्त्र प्रहरी बल नेपालले तराई र पहाडका विभिन्न जिल्लाबाट चार जना एसपीलाई हलचोकस्थित मुख्यालयमा तानेको छ । वीरगन्जका एसपी तेजप्रसाद पोख्रेलसमेत पटकपटक तानिने र फर्कनेमा परेका छन् ।

तानिएका सबैमाथि एसएसपी कृष्ण ढकाल नेतृत्वको टोलीले छानबिन गरिरहेको बताइन्छ । ‘आरोपितलाई बोलाएर बयान लिने क्रम जारी छ । तर उनीहरुमाथि लागेको आरोपको लिखित प्रमाण भेटिएको छैन । आरोप, घटनाक्रम र बयानलाई मिलाएर छानबिन गरिएको छ,’ मुख्यालय स्रोतको दाबी छ । 


यसअघि आरोपितमाथि छानबिन थालिनेबित्तिक्कै विभिन्न शक्ति केन्द्रबाट दबाब आउने गरेकाले यस पटक सशस्त्रका सम्बन्धित बिभागीय एआइजी र डिआइजीहरुले उनीहरुलाई कहिँ  कतैबाट दबाब वा भनसुन नगराउन पहिले नै सचेत गराएको बताइन्छ । आरोपितहरुलाई छानबिनमा प्रभाव पर्नेगरी भनसुन गर्न लगाएमा सोझै कारवाही हुने चेतावनी दिइएकाले आजसम्म हल्चोकमा कसैले फोन नगरेको गाईंगुईंसमेत चलेको छ ।

आरोपितलाई छानबिनपछि हेडक्वार्टरमा थन्काएर नयाँलाई पठाउने गृहकार्य पनि भैरहेको बुझिएको छ । तर नयाँलाई ती ठाउँमा पठाउँदा ती झन चण्डाल निस्कने आशंका उपल्लो तहको छ ।  छानबिनमा ठूलो कैफियत नदेखिए उनीहरुलाई नै कागज गरेर त्यहाँ पठाइने योजना पनि बन्न सक्ने स्रोतले बतायो ।

पछिल्लो समय डिएसपी र इन्स्पेक्टरहरु पनि धमाधम छानबिनमा तानिएका छन् । माथिकालाई मात्रै कारवाही र छानबिन हुने भन्ने मानसिकताले घर गरेकाले उनीहरुलाई समेत छानबिनको दायरामा ल्याइएको एक जना वरिष्ठ अधिकृतले बताए ।

टिप्पणीहरू