त्रिविले दिएको शैक्षिक प्रमाणपत्रमै यति गम्भीर त्रुटि ?

त्रिविले दिएको शैक्षिक प्रमाणपत्रमै यति गम्भीर त्रुटि ?

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्रमा देखिएको त्रुटि तत्काल सच्याइदिन माग गरेको छ ।  त्रिभुवन विश्वविद्यालयको सेमेष्टर प्रणालीअन्तर्गत परीक्षा उत्तिर्ण भएका विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्र,लब्धाङ्क पत्र र चारित्रिक प्रमाणपत्रमा उल्लेख भएको ग्रेडिङ मार्क्समा व्यापक त्रुटि रहेको नेविसंघले जनाएको छ । 

सेमेष्टर प्रणालीअन्तर्गत रहेको ‘डेभिएसस सिस्टम’ पालना नगरी त्रिविले अंक निर्धारण गरेको नेविसंघको ठहर छ । ‘सेमेष्टर प्रणालीअन्तर्गतको डेभिएशन सिस्टमलाई समेत पालना नगरी अंक निर्धारण गरेको र विद्यार्थीले छनौट गरेको विषय उल्लेख नगरी सबैमा एउटै भनी उल्लेख गरेकोले विद्यार्थीले मुख्य अध्ययन गरेको विषय नछुटाएको भनी व्यापक असन्तुष्टि आएको हुँदा यस विषयमा नेविसंघको गम्भीर ध्यानाकर्षण भएको छ’, आज जारी विज्ञप्तिमा उल्लेख छ । 

प्रतिष्ठित विश्वविद्यालयबाट पटकपटक एउटै गल्ती दोहोरिनाले नेपालको शैक्षिक निकायप्रतिको विश्वास घट्दै गएको नेविसंघले बताएको छ । उसले यथाशीघ्र,सहज र निःशुल्क रुपमा उक्त त्रुटि सच्चाइदिन त्रिवि परीक्षा नियन्त्रण कार्यालयलाई आग्रह पनि गरेको छ ।

टिप्पणीहरू