विद्यार्थीलाई न्यानो कपडा दिएर मनाइयो जन्मदिन
पाँचथरका एक अभिभावकले छोराको जन्मदिनको अवसरमा ६० जना विद्यार्थीलाई कपडा प्रदान गरेका छन् । फिदिम नगरपालिका १ मा सिदिन डेरी सञ्चालन गर्दै आएका गोपाल रिजालले ९ बर्षीय छोरा दिपजल रिजालको जन्मदिनको अवसरमा कपडा वितरण गरेका हुन् ।
फालेलुङ गाउँपालिका ७ स्थित थोकपन आधारभूत विद्यालयका कक्षा १ देखि ५ सम्म अध्ययनरत ६० जना छात्रछात्रालाई जाडो यामका कपडा र स्टेशनरी प्रदान गरिएको छ । रिजालले हिजो विद्यालयमै पुगेर विद्यार्थीलाई कपडा वितरण गरेका थिए ।
बालबालिकाको जन्मोत्सव मनाउने क्रममा अनावश्यक खर्च गर्ने प्रवृत्ति बढ्दै गएकाले मितव्ययी र व्यवहारिक बन्न प्रेरित गर्ने उद्देश्यले विद्यार्थीलाई कपडा प्रदान गरिएको रिजालले बताएका छन् । रिजाल सोही विद्यालयका पूर्व विद्यार्थी पनि हुन् । कपडा वितरण कार्यक्रमको संयोजन जनसेवा समाज नामक सामाजिक सँस्थाले गरेको थियो ।
कार्यक्रममा फालेलुङ ७ का वडाध्यक्ष टेकबहादुर केरुङ,सिद्धदेवी माविका प्रधानाध्यापक सुरेन्द्र केरुङ,पूर्व प्रधानाध्यापक ओमनाथ रिजाल,पूर्व वडाध्यक्ष शेरबहादुर केरुङ,विद्यालयका प्रधानाध्यापक जेबी राई र जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले रिजाललाई धन्यवाद ज्ञापन गरेका थिए ।
टिप्पणीहरू