उता एसपी तानिने,यता ३५ लाखको चिनी समातिने

उता एसपी तानिने,यता ३५ लाखको चिनी समातिने

पश्चिम नवलपरासीबाट अस्ति राति दुई वटा पिकअपमा राखेर नेपालतर्फ ल्याइँदै गरेको ६० क्विण्टल अवैध चिनी सशस्त्र प्रहरीले समातेको छ । तस्करीको उक्त चिनी त्यहाँका एसपीलाई हेडक्वार्टरले आवश्यक सोधपुछ र छानबिनको निम्ति हेडक्वार्टरमा तानेलगत्तै डिसपीको नेतृत्वमा बरामद भएको हो ।

राति १० बजेको समयमा नम्बर २६ गण हेडक्वार्टरबाट इन्सपेक्टर किशोर डाँगीको नेतृत्वमा खटिएको ११ जनाको मोबाइल टोलीले चिनी बरामद गरेको बुझिएको छ । सरावल गाउँपालिका ५,धनगडवामा भारतबाट दुई वटा पिकअपमा राखेर नेपालतर्फ ल्याइएको चिनी र सवारी साधनलाई नियन्त्रणमा लिइएको हो ।

चौंतिस लाख दुई हजार मूल्यको छ हजार केजी चिनीसहित लु.१ च ५९६३ र लु.२ च ६५५३ नम्बरको पिकअपका सवारी चालकहरुलाई पनि सशस्त्रले पक्रेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको प्रतापपुर गाउँपालिका २,घोडाहा बस्ने ४५ वर्षका धीरेन्द्रकुमार चौधरी, सह–चालक २० वर्षका किरणकुमार चौधरी र रामग्राम नगरपालिका ७, उजैनी बस्ने १६ वर्षका रोशन चौधरी रहेको भन्सार कार्यालयले जनाएको छ । 

चिनी र सवारी साधनलाई हिजै दिउँसो रुपन्देहीको बेलैया भन्सार कार्यालयमा बुझाइएको छ । 

त्यहाँका एसपी रुपकुमार क्षेत्री विभिन्न विवादमा मुछिएपछि काठमाडौं तानिएका छन् । उनको ठाउँमा केही दिनदेखि डिएसपी केशवराज थापाले निमित्त भएर काम चलाइरहेका छन् ।

एसपी तानिनेबित्तिक्कै डिएसपीले निमित्त भएर चलाएको गणले ३४ लाख बढीको चिनी र सवारी साधन समात्नु सामान्य कुरा हुनै सक्दैन । यसबाट पनि एसपीकै सँरक्षणमा निर्वाध तस्करी धन्दा चल्ने गरेको प्रष्ट हुने भन्सार बिभागबाट भर्खरै तानिएका महानिर्देशक कमल भट्टराईले बताए ।  स्रोतका अनुसार भारतमा सर्वसाधारणलाई उपलब्ध गराइने अनुदानको चिनी नेपालतर्फ तस्करी हुने गरेको छ । भारत सरकारले सर्वसाधारणलाई मल जस्तै चिनी पनि अनुदानमा बाँड्ने गर्दछ । 


भारतीय बजारमा मोटामोटी नेपाली रुपैयाँ ६० मा एक किलोग्राम चिनी पाइन्छ । यता त्यही चिनीलाई ८५ रुपैयाँ पर्छ । भारतबाट तस्करी गरेर यता ल्याउने गरिएको त्यस्तो चिनीले स्वदेशी चिनी उद्योग संकटमा परेका छन् भने सरकारको राजश्वसमेत चौपट हुने गरेको छ । त्यो चिनी प्रधानमन्त्री शेरबहादुर देउवाको ३ बर्षसम्म अङ्गरक्षक रही ३ महिनाअगाडि मात्र नवलपरासी पठाइएका इन्स्पेक्टर रामहरि श्रेष्ठ इन्चार्ज रहेको नाकाबाट भित्रिएको हो । उनी पनि एसपी रुपकुमारसङ्गै अनुसन्धानको निम्ति हेडक्वार्टरमा तानिएका छन् । सत्ताको आडमा हुने गरेका यस्ता बदमासी त कति छन् कति ! ब्यक्ति मोटाउने,रास्ट्र बदनाम हुने !

टिप्पणीहरू