तारा बराल माइती नेपालकी अनुराधामाथि पनि खनिइन्

तारा बराल माइती नेपालकी अनुराधामाथि पनि खनिइन्

आफूलाई अभियन्ता बताउँदै हिँड्ने तारा बरालले अनुराधा कोइरालाको नागरिकताको आधिकारिकतामाथि पनि प्रश्न उठाएकी छन् । उनले कोइरालाको नागरिकताको आधिकारिकता छानबिन गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गरेकी छन् ।

उनले अनुराधा कोइराला भारतीय नागरिक रहेको दाबी गरेकी छन् । माइती नेपालकी संस्थापक तथा बाग्मती प्रदेशकी पूर्व प्रमुख कोइरालाले नेपालीसँग विवाह गरेर वंशजको नागरिकता लिएको उनको आरोप छ । 

निवेदनमा भनिएको छ, ‘भारतीय नागरिकको अंगिकृत नागरिकता हुनुपर्नेमा झुठा विवरण पेश गरेर ओखलढुंगाबाट नेपाली वंशजको नागरिकता बनाएको पाइएकाले निजको नागरिकता छानबिन तथा कारवाहीको लागि यो उजुर गरिएको छ ।’

बरालले गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय,ओखलढुंगा र राष्ट्रिय सूचना आयोगलाई बोधार्थ दिएकी छन् । उजुरी गर्नेमा बरालसहित सात जना छन् । उनीहरुमा सञ्जु कार्की,ललित बराल,शोभा न्यौपाने, सानु फुर्वाछाने,गोमा घिमिरे र ईश्वरकुमार प्रधान हुन् । 

काठमाडौंका सिडिओले जिल्ला प्रशासन कार्यालय, ओखलढुंगासँग सम्बन्धित भएकाले निवेदनलाई उतै पठाइदिन प्रशासन शाखालाई आदेश दिएका छन् ।

टिप्पणीहरू