तेल भीसाबारे प्रोफेसर अमृत खरेलको चोटिलो प्रहार
पोखराको पृथ्वीनारायण क्याम्पसमा कानुन विषयका सहायक प्रोफेसर अमृत खरेलले नेपाली समाज नजानिँदो हिसाबले आर्थिक, राजनीतिक तथा सामाजिक डिलबाट भासिन थालेको चेतावनी दिएका छन् । खरेलले प्रायः सामाजिक सञ्जालमा त्यस्तै विषय उठाउँदै आएका छन् ।
पछिल्लो पटक उनले नेपालबाट उच्च शिक्षा अध्ययनको निम्ति विदेश गएका विद्यार्थी र तिनका परिवारले देखाएको प्रवृत्तिलाई आर्थिक तथा सामाजिक पाटोबाट केलाएका छन् । उनले नेपाली परिवारले मुलुकमा दुःख गरेर हुर्काएका आफ्ना छोराछोरीलाई उच्च शिक्षा प्राप्त गर्ने नाममा ठूलो धनराशी खर्चेर विकसित तथा मुख्य गरी पश्चिमा राष्ट्रमा पठाउँदा देखिन थालेको सामाजिक एवम आर्थिक असन्तुलनलाई उजागर गरिदिएका हुन् ।
उनले लेखेका छन्, ‘अब पढाइ सकेपछि उतै बस्न थाल्छ । बिहेबारी कि उतै गर्छ वा नेपाल आएर गरे पनि उसको दम्पत्ति उतै बसेर विदेशीकै सेवा गर्छ । त्यसपछि जब उसका छोराछोरी जन्मिन्छन् अनि बाबुआमालाई ‘तेल’ भीसामा घुम्न बोलाउँछ ।’ उनले उता गएका विद्यार्थीबाट मुलुक र परिवारमा खासै केही योगदान नहुने गरेको विषयतर्फ इंगित गरेका हुन् ।
‘अब पढाइ सकेपछि उतै बस्न थाल्छ । बिहेबारी कि उतै गर्छ वा नेपाल आएर गरे पनि उसको दम्पत्ति उतै बसेर विदेशीकै सेवा गर्छ । त्यसपछि जब उसका छोराछोरी जन्मिन्छन् अनि बाबुआमालाई ‘तेल’ भीसामा घुम्न बोलाउँछ ।’
छोराछोरीले बोलाएपछि नेपालमा भएका बाबु,आमा आफ्नै कमाइ खर्चेर चर्को भीसा शुल्क र विमान खर्च व्यहोरी टुरिष्ट भीसामा उता जाने गरेको साँचो र यथार्थ हो । त्यसपछि धेरै जना नेपालमा भएको श्रीसम्पत्ति सबै बेचेर हुण्डीबाट पुँजी पलायन गर्दै सबै धन विदेशमा पुर्याएर भासिनसमेत तयार हुने गरेको उनको भनाइ छ ।
उनको निश्कर्ष छ,‘भनेपछि पश्चिमाले नेपाली शिक्षा प्रणाली नै यसरी फण्डिङ गरेर गजबले उनीहरू अनुकूल तुल्याएकाले नजानिँदो तरिकाले नेपालीहरू आफ्नो लगानीमा विदेशीका लागि जनशक्ति उत्पादन गरिरहेका छन् । अर्कोतर्फ भीसा शुल्कबाट उनीहरूले गर्ने आम्दानी छुट्टै छ ।’
धनी देशबाट नेपाल घुम्न आउने पर्यटकभन्दा पछिल्ला दिनमा जबर्जस्ती छोराछोरीका कारण विदेश घुम्न जाने नेपालीको संख्या धेरै भएको उनले लेखेका छन् । पारिवारिक कारणबाट बन्धनमा परेर पनि नेपाल र नेपाली पश्चिमाका निम्ति पर्यटन बजार भएको उनको आकलन छ । यो प्रवृत्ति पछिल्लो २० वर्षमा अत्यधिक देखिएको छ । विशेषगरी मध्यम वर्गीय परिवार नजानिँदो किसिमले यसरी मुलुकको पुँजी पलायनको माध्यम बन्न पुगेको खरेल बताउँछन् ।
अझ महत्वपूर्ण पदमा हुनेले त विदेशमा छोराछोरीलाई डलरमा भुक्तानी दिन लगाएर नेपालमा भ्रष्टाचार गर्ने गरेको सुन्नमा आएको उल्लेख गर्दै उनले भने,‘ यो चक्रले नेपालमा भ्रष्टाचारलाई पनि बढावा दिएको छ ।’
टिप्पणीहरू