कालो धनको राम्रोसँग होला त छानबिन ?

कालो धनको राम्रोसँग होला त छानबिन ?

विश्वका अधिकांश मुलुकको सम्पत्ति (कालो धन) शुध्दिकरण सम्बन्धमा निगरानी राख्ने अन्तर्राष्ट्रिय निकाय एशिया प्रशान्त समूह (एपीजी) र फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को तेस्रो म्युचुअल इभालुएसन टोली गत सातादेखि नेपालमा छ । पर्सि शुक्रवारसम्म रहने ११ सदस्यीय टोलीले यसबीच विभिन्न निकायको स्थलगत अध्ययन र छलफल गरिरहेको छ । 

मुलुक वित्तीय कारोबारको कालोसूचीमा पर्ने वा नपर्ने भन्नेसम्बन्धमा स्थलगत अध्ययन गर्न आएको अन्तर्राष्ट्रिय टोलीले सरकार, नियमनकारी निकाय, सरोकारवाला संस्थासँग विभिन्न चासो राखेको बुझिएको छ । टोलीले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड,सहकारी विभाग,बीमा प्राधिकरणलगायत नियमनकारी निकायसँग छलफल गरेको बताइन्छ । 

भोलिसम्म स्थलगत अध्ययनमा सहभागी हुने टोलीले आफ्नो प्रारम्भिक रिपोर्ट फेब्रुअरीमा तयार पार्नेछ । त्यसपछि सोही रिपोर्टको आधारमा पोष्ट इभालुएसन गर्न टोली अप्रिलमा पुनः नेपाल आउने छ । अप्रिलको पोष्ट इभालुएसनको आधारमा अगामी जुलाईमा हुने एपीजीको बैठकमा मुलुकको अवस्थाबारे अन्तिम निर्णय हुने सरकारी अधिकारीहरुले बताएका छन् ।

हाल काठमाडौंमा रहेको टोलीको सुपरीवेक्षणबारे सोधिएको जिज्ञासामा उनै अधिकारीले भने, ‘नेपालको तर्फबाट प्रस्तुति राम्रो भएको छ । तर सम्पत्ति शुद्धिकरणका विषयमा मुलुकले चाल्नुपर्ने कदममा खासै प्रगति  देखिएको छैन । तयारी र व्यवस्थापन भने राम्रो छ ।’

यसबीच नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धिकरण महाशाखा नै खोल्ने निर्णय गरेको छ । बैंक हाताभित्र एफआईयुको कार्यालय विगतदेखि नै छ । नेपाल भ्रमणमा रहेको टोलीले एक सातामा ८० भन्दा बढी भेटघाट र छलफल गरेको बताइन्छ ।

टोलीको खर्च र व्यवस्थापनबारे सोधिएको जिज्ञासामा राष्ट्र बैंकका एक जना कार्यकारी निर्देशकले भने, ‘खर्च सबै टोलीले व्यहोर्ने छ । दैनिक लञ्च र विशेष रात्रिभोजको खर्च मात्रै नेपालले व्यहोर्ने समझदारी भएको छ । विगतमा पनि यस्तै हुनेगर्थ्यो ।’

टिप्पणीहरू