व्यापारीको मुखमा गुलियो अङ्गुर, भोटेकोशी छेउमा फोहोरको डङ्गुर

व्यापारीको मुखमा गुलियो अङ्गुर, भोटेकोशी छेउमा फोहोरको डङ्गुर

भनिन्छ पानी भएन भने प्राणीहरुको अस्तित्व यो धर्तीमा रहँदैन । पानी बिना हर प्राणी बाँच्न सक्दैन । 

जलस्रोतमा धनी हाम्रो देश नेपालमा पानीका मुहान प्रशस्त छन् । तर, बिस्तारै स्वच्छ मुहानहरु भने सम्बन्धित निकायले बेवास्ता गर्नाले प्रदुषित हुँदै गएका छन् ।

सम्बन्धित निकायको बेवास्ताले नै सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका महभीरस्थित भोटेकोशी नदी किनारमा थुपारिएको फोहोरले नदीको सुन्दरतालाई त असर गरेको नै छ स्वच्छ भोटेकोशीलाई समेत प्रदुषित बनाएको छ ।

ज्यानको पर्वाह नगरी आम्दानी गर्नको लागि अव्यवस्थित रुपमा नदीमै जोडिएर बनाइएका होटलहरुबाट निस्किएको फोहोर किनारमा डङ्गुर हुँदा पनि नगरपालिकाले बेवास्ता गरेको स्थानीयको आरोप छ।

"पहिलाको भोटेकोशी र अहिलेको भोटेकोशी धेरै फरक भयो । कति स्वच्छ थियो ! बजारबाट उत्पन्न हुने फोहोरहरु पसलेले नदीमा फाल्दिए । अहिले धमिलो हुँदै गइसक्यो ।"–बाह्रबिसे ५  बस्ने किसान मनोज श्रेष्ठले गुनासो गर्नुभयो ।

बाह्रबिसेबाट मात्र नभई लामोसाँघु, सुकुटे,बलेफी,जलबिरे साथै मेलम्ची लगायतका बजारबाट निस्किएको फोहोरसमेत जिम्मेवार निकायको मौन सहयोगमा भोटेकोशी, ईन्द्रावती,मेलम्ची,सुनकोशी लगायतका नदीमा फाल्ने गरिएको  बाह्रबिसे-४ का समाजसेवी वीरबहादुर तामाङको आरोप छ। यस बिषयमा बाह्रबिसे नगर प्रमुख बालकृष्ण बस्नेतसँग कुरा राख्दा आफूले फोहोर व्यावस्थापनको लागि पहल गरिरहेको बताउनुभयो।

"पहिला अर्को नगरप्रमुखले वास्ता नगर्दा जतासुकै फोहोर जलाएर बजार नै कुरुप भएको थियो । पसलेहरुले फोहोर फाल्दा पनि चुपचाप बस्थे । तर,म निर्वाचित भएर आएदेखि केही रोकेको छु । अबको एक महिनाभित्र फोहोरको राम्रोसँग व्यवस्थापन गर्नेछु"- प्रमुख बस्नेतले जनआस्थासँगको कुराकानीमा बताउनुभयो ।

टिप्पणीहरू