नेपाल वायुसेवाका क्रु आन्दोलित, यतै रोकिए यात्रु

नेपाल वायुसेवाका क्रु आन्दोलित, यतै रोकिए यात्रु

दुई जना विमान परिचारिकाको करार सम्झौता नवीकरण नगरेको विवादले नेपाल वायुसेवा निगममा आन्दोलन चर्किएको छ । विमान पारिचारिका आरती महर्जन र हिमता गुवाजुको करार सम्झौता नवीकरण नभएपछि नेपाल वायुसेवा क्याबिन क्रु संघ हड्तालमा उत्रिएको हो ।  

तीन महिना पहिले नै नवीकरण हुनुपर्ने करार सम्झौता तथा क्याबिन क्रु आईडी निगम व्यवस्थापनको चरम लापरवाहीको कारणले अहिलेसम्म पनि हुन नसकेको संघको आरोप छ । आईडी कार्ड नवीकरण नै नगरीकन विमान परिचारिकाहरु काममा खटिएको बताइएको छ । 

त्यस्तै, नागरिक उड्डयन प्राधिकरणले महिनाको अधिकत्तम १०० घण्टा मात्र उड्न पाउने व्यवस्था गरेपनि सोभन्दा बढी समय काममा लगाइएको पनि संघको आरोप छ । संघले ‘करार अवधि नवीकरण हुनुपर्ने’, ‘स्थायी क्रु बराबर सेवासुविधा हुनुपर्ने’ लगायतका माग राखेर आन्दोलन थालेपछि निर्धारित उडानका यात्रुहरु रोकिएका छन् । 

 मलेसिया र दुबईका लागि हिजो राति उडेका निगमका दुइटा जहाज उतै रोकिएका कारण यात्रुहरु अलपत्र परेका हुन् । आज साउदी अरेबियाको रियाद र भारतको दिल्ली जाने जहाज पनि डिले भएको बताइएको छ ।

हाल आन्दोलित क्रु, कर्मचारी ट्रेड युनियन र नेपाल वायुसेवा व्यवस्थापन पक्षबीच वार्ता भइरहेको छ ।

टिप्पणीहरू