तलब नपाएका पत्रकारले अध्यक्षको घर घेरे

तलब नपाएका पत्रकारले अध्यक्षको घर घेरे

पत्रकारलाई तत्काल तलव व्यवस्थापन गर्न माग गर्दै श्रमजीवी पत्रकार संघले आज गोरखा टिभीका अध्यक्षको घर अगाडि विरोध प्रदर्शन गरेको छ ।  त्यहाँ कार्यरत पत्रकारले लामो समयदेखि पारिश्रामिक नपाएको बताउँदै संघले टेलिभिजनका अध्यक्ष तेजविक्रम थापाको निवास घेराउ गरेको हो । 

सो क्रममा प्रदर्शनकारीले ‘गोरखा टिभीमा काम गरेका सम्पूर्ण श्रमजीवीको बाँकी बक्यौता तत्काल भुक्तानी गर’,‘पटक-पटक झुक्याएर पत्रकारलाई दुःख दिने हर्कत बन्द गर’,‘श्रमजीवी पत्रकार ऐनले तोकेको सेवासुविधा र सामाजिक सुरक्षा कोष तत्काल लागू गर’ जस्ता नारावाजी गरेका थिए ।

यसअघि पनि गत मंसिर २२ गते संघले गोरखा र कृषि टेलिभिजनमा कार्यरत पत्रकारले तलब नपाएको विषयमा ध्यानाकर्षण गर्दै विज्ञप्ति जारी गरेको थियो । विज्ञप्तिमा तीन दिनभित्र पारिश्रामिक भुक्तानी गर्न माग गरिएको थियो । 

साथै, भुक्तानी नगरिएमा संघर्ष कार्यक्रमअन्तर्गत अध्यक्षको दक्षिणढोका निवास घेराउ गर्ने, प्रेस काउन्सिलमा सूचिकृतबाट हटाउने, सरकारी सेवा सुविधा रोक्का गर्न पत्राचार गर्ने, टेलिभिजनका अध्यक्ष तेजविक्रम थापाद्धारा सञ्चालित कृषि बहुउद्देश्य सहकारी संस्थामा धर्ना दिनेलगायतका आन्दोलन गर्ने चेतावनी दिइएको थियो ।

टिप्पणीहरू