सिन्धुपाल्चोकका किसानहरु गोलभेडाको बजार भाउ नपाएर हैरान
चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १४ डडुवाका किसानहरुले उत्पादन गरेको गोलभेडारले बजार भाउ नपाउँदा किसानहरु मर्कामा परेका छन्।
इण्डियाबाट आयात भएका अनेक बिषादी मिसिएको तरकारीहरु चर्को मूल्यमा बिक्री भइरहँदा आफूहरुले दुःख गरेर उत्पादन गरेको अर्गानिक तरकारीले बजार भाउसमेत नपाउँदा तरकारी बारीमै कुहिएर खेर गएको सोही वडाकी किसान कल्पना नेपालले गुनासो गरिन् ।
"दुई पैसा होला कि भनेर दुःख गर्यो । अहिले गोलभेडाको सिजन छ। उत्पादन नभएको होइन,भएको छ। जम्मा २०-२२ रुपियाँ किलोमा खोज्छन् । उनीहरुले लगेर प्रशस्त नाफा खान्छन् । बिचौलियाले नै हामीलाई मारमा पारेका छन् ।– सोही वडाको किसान राधिका न्यौपानेले दुखेसो पोखिन् ।
कृषिमा पकेट क्षेत्र बनाउँछौँ भन्दै स्थानीय तहहरुमा चुनाव जितेका जनप्रतिनिधिहरुले अहिलेसम्म तरकारी व्यवस्थापनमा वास्ता नगरेको वडाबासी कृषकहरुको गुनासो छ।
किसानहरुका अनुसार डडुवा तरकारी खेतीको लागि नगरकै उपयुक्त ठाउँ मानिन्छ । अरु तरकारी भन्दा पनि गोलभेडा प्रशस्त उत्पादन हुने डडुवामा कृषकले हप्तामा सय देखि दुई सय क्रेट गोलभेडा उत्पादन गर्ने बताउँदै आएका छन् । "राम्रो उत्पादन र बजार भाउ भएमा बार्षिक ४ देखि ५ लाख रुपिँया आम्दानी हुन्छ। तर,के गर्नु सबै कुहिएर गएको छ । हामी किसान यहाँ १६०० धुरी जति छौँ । सबैको बेहाल छ" ।–सोही वडाका किसान जीवनकृष्ण नेपालले जनआस्थासँगको कुराकानीमा बताए ।
किसानहरुको उक्त गुनासोलाई नगर प्रमुख कृष्णप्रसाद सापकोटासामु राख्दा किसानलाई खुशी पार्न लागिपरिरहेको बताए, "भनेको जस्तो नहुने रहेछ। तत्काल व्यवस्थापन गर्न सकिएन । कोल्डस्टोरमा राखेर बेच्दा पनि गोलभेडा धेरै दिन नबस्ने रहेछ। हामीले पालिकाबाट धेरै उत्पादन गर्नेलाई अनुदानको पनि व्यवस्था गरेका छौँ । यताका बजारहरुमा पनि गाउँमा नै उत्पादित तरकारी किन्न आग्रह गर्छौँ । कार्यविधि पनि बनाउँदै छौं । अब,केही उपाय लाग्ला ।– प्रमुख सापकोटाले भने।
साथै,सोही वडाको वडाअध्यक्ष उध्दव नेपालले भने आफूहरु मात्र लागिपरेर केही नभएको गुनासो गरे । "वडा र पालिका सबै एकसाथ मिलेर गर्ने हो ,भने समस्याको समधान गर्न सकिन्छ। हामीले वडाबाट पनि 'तरकारी पकेट विकास कार्यक्रम' राखेका छौ ।वडा अध्यक्षको हैसियले सक्ने गर्ने छु।–उनले भने
उता,किसान जिवन कृष्ण नेपालले भने जनप्रतिनिधिहरुले वास्ता नगरेर नै बजार व्यावस्थापनमा समस्या आएको आरोप लगाएका छन्।
टिप्पणीहरू