भन्सार काट्ने कर्मचारी,कब्जामा लिने प्रहरी

भन्सार काट्ने कर्मचारी,कब्जामा लिने प्रहरी

भन्सारले जाँचपास गरी प्रज्ञापनपत्र दिएर पठाएको सामान प्रहरीेले ५ दिनसम्म कब्जामा लिएको छ । भैरहवा भन्सार कार्यालयले आयातकर्ताले सबै प्रक्रिया पुर्याएर भारतबाट भित्र्याएका जिप्सम ब्राण्डका खेतिपातीमा प्रयोग गर्न सकिने मलखादसम्बन्धी एक गाडी सामान जाँचपासपश्चात आवश्यक महशुल लिई छाडेको थियो ।

सोही गाडीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीका इन्स्पेक्टर वेदप्रसाद पौडेलले रोकेर ५ दिनसम्म भैरहवा बसपार्कमा त्यत्तिकै थन्काइदिएका छन् । पीडित आयातकर्ताले यससम्बन्धमा कुरा गर्दा केही जवाफ नपाएपछि फेरि भन्सार कार्यालय पुगे । भन्सार प्रमुख मणिराम पौडेलले छक्क पर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा टेलिफोन गरी प्रज्ञापन पत्रसहित छाडिएको आयातित सामानका बारेमा बुझ्दा इन्सपेक्टर वेदले शंका लागी सामान आफूले पक्रिएको बताए । 

तर शंका लागी सामान पक्राउ गर्दा पनि बुझबुझारथ गर्ने वा शंका निवारणका लागि परीक्षण गर्नुपर्नेमा त्यसो नगरी ५ दिनसम्म त्यत्तिकै बसपार्कमा अलपत्र पारेर व्यवसायीलाई दु:ख मात्र दिन खोजेको शंका गरिएको छ । भन्सार प्रमुखले फोन गरी बुझेपछि भने सोही दिन इन्स्पेक्टरले गाडी राजश्व अनुसन्धान कार्यालय बुटवलमा लगेर बुझाएका छन् । इन्सपेक्टर पौडेलले भने जिप्सम ब्राण्डका सामान भनिए पनि भनिएका ब्राण्डका बारेमा कतै उल्लेख भएको नपाइएकाले शंका लागी पक्रिएको बताए ।

लगत्तै राजश्व अनुसन्धान कार्यालय बुटवललाई फोन गर्दा पनि सामान बुझ्न नमानेकाले बसपार्कमै केही दिन राख्नुपरेको उनले बताए । पछि राजश्व अनुसन्धान कार्यालयले पठाइदिनुस् भन्नासाथ आफूले उतै बुझाएको इन्सपेक्टरले उल्लेख गरेका छन् । 

लुम्बिनी प्रदेश स्तरीय कृषि कार्यालयमा आयातित सामान परीक्षण गर्दा कृषिकार्यमा प्रयोग हुने सामग्री भन्ने प्रतिवेदन आएको छ ।

टिप्पणीहरू