शनिवार पिपलको पूजा किन गरिन्छ ? यस्तो छ धार्मिक बिश्वास

शनिवार पिपलको पूजा किन गरिन्छ ? यस्तो छ धार्मिक बिश्वास

-हिन्दू धर्मावलम्वीहरुले पिपलको रुखमा पानी चढाउने र पूजा गर्ने पुरानो मान्यता हो । 

पिपललाई धार्मिक, पौराणिक,आयुर्वेदिक एवम् वातावरणीय दृष्टिले महत्वपूर्ण मानिन्छ । हिन्दू धर्मावलम्वीले पिपलको बृक्षलाई विष्णु भगवानको प्रतिक मानेर पूजा गर्दै आएको पाइन्छ ।

शनिवार पिपलको परिक्रमा,पूजा गर्नु,दियो बाल्नु तथा जल चढाउनु अति नै शुभ मानिन्छ ।
धर्मशास्त्रमा वर्णन भएअनुसार पिपलको पूजा शनिवार मात्र गर्नुपर्दछ । पुराणमा भनिएअनुसार समुन्द्र मन्थनको समयमा देवी लक्ष्मीभन्दा अगाडि उनकी दिदी,अष्टलक्ष्मी उत्पन्न भइन्, र पछि लक्ष्मी आइन् । अनि देवी लक्ष्मीले श्रीविष्णुको रुप धारण गरिन्,यसबाट अलक्ष्मी रुष्ट बनिन् । 

यस्तो देखेर श्रीविष्णुले अलक्ष्मीलाई आफ्नो प्रिय वृक्ष बासस्थान पिपलको वृक्षमा बस्न आदेश दिए र भने-यहाँ तिमी आराधना गर । म समय समयमा तिमीलाई भेट्न आइरहन्छु,साथै देवी लक्ष्मीले पनि भनिन्,म प्रत्येक शनिवार तिमीसँग भेट्नको लागि पिपल वृक्षमा आउने गर्छु । भनिन्छ यही कारण शनिवारका दिन श्री विष्णु र देवी लक्ष्मी पिपलको वृक्षमा बस्ने गर्दछन् ।

 त्यसैले शनिबारको दिन पिपलको वृक्षको पूजा गर्दा,बत्ती बाल्दा तथा जल वा तेल चढाउँदा वा परिक्रमा गर्दा पुण्य प्राप्त हुन्छ भन्ने विश्वास छ । साथै धन धान्यको पनि वृद्धि हुन्छ भनिन्छ । भक्तजनको यही विश्वासका कारण नै शास्त्रमा पिपललाई देव वृक्ष भनिएको बताइन्छ ।

गीतामा भगवान श्रीकृष्णले त पिपलको वृक्षलाई स्वयम् आफ्नो रुप बताएका छन् । श्रीकृष्ण भन्छन्, ‘अश्वत्थस् सर्ववृक्षणां’ अर्थात समस्त वृक्षहरुमा म पिपलको वृक्ष हुँ ।शास्त्रमा भनिएको छ कि ‘अस्वत्थस् पूजितोयत्र पूजितास् सर्व देवतास्’ अर्थात पिपलको पूजा गर्यो भने एकसाथ सबै देवताहरुको पूजा गरेको फल प्राप्त हुन्छ।वैज्ञानिक दृष्टिकोणबाट पनि पिपललाई पूजनीय मानिन्छ । किनकि यो यस्तो वृक्ष हो जसले गर्मीमा शीतलता प्रदान गर्दछ र जाडोमा तातो हावा निकाल्दछ । पिपलबाट सधैं अक्सिजनको सन्चार हुन्छ । आयुर्वेदमा भनिएको छ कि पिपलको हरेक भाग जस्तै पात,फल सबै औषधीको रुपमा प्रयोगमा आउँछ । यसबाट कयौं गम्भीर रोगहरुको पनि उपचार सम्भव हुन्छ ।

हिन्दू धर्ममा पिपललाई अमृततुल्य मानिएको छ । यसमा धेरै अक्सिजन हुने हुनाले प्राणवायुको भण्डारण भन्ने गरिन्छ ।

पिपलको पातलाई सिरानमुनि राखेर सुत्दा अक्सिजनको कमि नहुने विश्वास गरिन्छ । स्कन्द पुराणमा वर्णन गरिए अनुसार पिपलको रुखमा सबै भगवान वास बस्छन् । हरेक शनिवार पिपलको रुखमा पानी चढाएर ३ पटक फेरो लगाउँदा गरिबी,शोक र दुर्भाग्य हट्न सक्छ । 

अश्रत्थ व्रत गर्दा कन्यालाई सौभाग्य प्राप्ती हुन्छ । शनिवार पिपलको रुखमा पूजा गरेर कालो तिलको साथमा रायोको तेलको दियो बालेर सात पटक परिक्रमा गर्दा शनिको कष्ट कम हुन्छ ।
साउन महिनाको शनिवार पिपलको रुखमुनि हनुमानको पूजा गर्दा सबै प्रकारको संकटबाट छुट्कारा पाउन सकिन्छ भन्ने धार्मिक विश्वास पाइन्छ ।

टिप्पणीहरू