विश्वकप भएको शहरबाट आएका राजेन्द्र घर नपुग्दै लुटिए

विश्वकप भएको शहरबाट आएका राजेन्द्र घर नपुग्दै लुटिए

कतारबाट काठमाडौँ आइपुगेपछि घर फर्कंदै गरेका एक जना स्वदेशमै लुटिएका छन् । झापाको बिर्तामोड ७ का राजेन्द्र श्रेष्ठ बीच बाटोमै लुटिएका हुन् ।

उनी काठमाडौँ–काँकडभिट्टा चल्ने बा ०३–००१–ख–२०० नम्बरको बिहानी यातायातमा चढेका थिए । स्टाफसँगै खाना खाएका श्रेष्ठले ढल्केबर पुगेर  उनीहरूसँगै चिया पिएको बताइएको छ ।

चिया पिएपछि बेहोस भएको र गाडीभित्रै आफ्नो दुई तोला सुनको औँठी र ४० हजार मूल्यको मोबाइल लुटिएको उनको भनाइ छ । बुट्टाबारीमा ओर्लनुपर्ने उनलाई चालक र सहचालक मिलेर बिर्तामोडको पश्चिम स्ट्याण्डमा पुर्याएको पनि उनी बताउँछन् ।

बेहोस अवस्थामै सिटी यातायातमा चढाइएका श्रेष्ठलाई आफूहरूले उपचार गरेर घर पुर्याएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । श्रेष्ठले गाडीका चालकलगायत विरुद्ध इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् ।

हिजो बस चालक र कण्डक्टर आए पनि सहचालक नआएकाले भोलि सबैलाई उपस्थित हुने गरी बोलाइएको प्रहरीको भनाइ छ ।

टिप्पणीहरू