छोरी र बुहारीलाई उच्चशिक्षा निःशुल्क, परिवारलाई बिजुली

छोरी र बुहारीलाई उच्चशिक्षा निःशुल्क, परिवारलाई बिजुली

-ऋषि भट्टराई

गुल्मीको मदाने गाउँपालिकाले छोरी, बुहारीलाई निःशुल्क उच्चशिक्षा दिने भएको छ । उक्त कार्यक्रमअन्तर्गत पुर्कोट दहमा रहेको एक मात्र जनज्योति क्याम्पसमा उच्चशिक्षा अध्ययन गर्ने छोरी र बुहारीहरुलाई निःशुल्क अध्ययनको सुविधा राखिएको छ ।

उच्चशिक्षाको पहुँच विस्तार गर्न छोरी,बुहारी शैक्षिक छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको गाँउपालिकाले जनाएको छ । जसअनुसार स्थानीय जनज्योति क्याम्पसमा अध्ययनरत सबै तहका सम्पूर्ण छात्राहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गरिने छ । हाल क्याम्पसमा अध्यनरत एक सय दुई जना छात्राले यसको प्रत्यक्ष लाभ लिएको बताइन्छ ।

क्याम्पस प्रमुख देवीराम भुसालले कार्यक्रमले पछिल्लो समयमा छोरी र बुहारीहरुको हक स्थापित गराउने कार्यमा थप आकर्षण बढाएको बताए । चालु आर्थिक वर्षबाट पालिकाले यस्तो कार्यक्रम सञ्चालनमा ल्याएको हो । 

गाउँपालिकामा सरकारी छात्रवृत्ति नपाएका एमबीबीएस अध्ययनरत विद्यार्थीलाई प्रोत्साहनस्वरुप छात्रवृत्ति रकम पनि उपलब्ध गराउने व्यवस्था रहेको पालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले जानकारी दिए । त्यसैगरी सुरक्षित तवरले प्रसूती गराउन नसकेका गभर्वती महिलाहरुलाई तत्काल उचित गन्तव्यमा लैजान पालिकाले यातायात खर्चको समेत निःशुल्क व्यवस्था गरेको छ । 

चालु आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रमअनुसार गाउँपालिकाभित्रका सम्पूर्ण विद्युत लाभग्राहीहरुको २० युनिटसम्मको न्यूनतम विद्युत महशुल भुक्तानी गर्ने कार्यक्रम पनि लागु भइसकेको छ । जसअन्तर्गत २०७९ श्रावणदेखि पुस महिनासम्म ४ हजार ५८३ घरधुरीको नाममा पहिलो किस्ताअन्तर्गत ८ लाख २४ हजार ९४० रुपैयाँ नेपाल विद्युत प्राधिकरण तम्घासको नाममा जम्मा गरिसकिएको छ ।

टिप्पणीहरू