एमाले उपमहासचिवले सिडिओको झाँको झारेपछि..
गत शुक्रवार लमजुङमा पत्रकारहरुको साधारण सभा बोलाइएको थियो । सदरमुकाम बेशीशहर–३, काउलेपानीमा आयोजित नेपाल पत्रकार महासंघ लमजुङ शाखाको साधारण सभामा एमाले उपमहासचिव तथा नवनिर्वाचित प्रतिनिधि सभाका माननीय पृथ्वीसुब्बा गुरुङलाई प्रमुख अतिथि बनाइएको थियो ।
कार्यक्रममा विशेष अतिथि थिए लमजुङका सिडिओ सुशील बैद्य । एउटै मञ्चमा भएर पनि वैद्य र गुरुङबीच सामान्य शिष्टाचारका शव्द आदानप्रदानसम्म पनि भएको न देखियो,न सुनियो । ‘जसको मनमा कालोमैलो उसको मन धरमर’ भनेझैँ गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा बैद्य कुनै हालतमा पनि माओवादी महासचिव देव गुरुङले जित्नुपर्ने पक्षमा थिए ।
राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख कुमार बुढाथोकीको रिपोर्टिङमा चार हजारभन्दा बढी मतान्तरले माओवादी महासचिव गुरुङले एमाले उपमहासचिव गुरुङलाई पराजित गर्ने व्यहोरा उल्लेख गरिएको बताइन्छ । बैद्य त्यही रिपोर्टिङमा भएका हुन् । त्यहीअनुरुप उनले देव गुरुङलाई खबर गरेका थिए ।
प्रशासनले सुरक्षाको सेटिङ पनि सोहीबमोजिम मिलाएको दाबी गरेको थियो । एमाले एक्लो एकातिर, काँङ्ग्रेस,माओवादी, नेकपा समाजवादीसहित पाँच दल अर्कोतिर हुँदा देवले जित्छन् भन्नु अस्वाभाविक पनि थिएन । तर परिणाम ठीक उल्टो आउँदा गुप्तचरका मान्छेले निकै खप्की खाएका छन् ।
चुनावको दिन लमजुङका केही ठाँउमा गठबन्धनका नेता तथा कार्यकर्ताले सुरक्षा निकायको आडमा एकलौटी गरेको सूचना एमाले नेता सुब्बाको कानमा परेकै थियोे । त्यही भएर पनि मतगणनास्थल जिल्ला समन्वयको हलमा सुब्बाले बैद्यलगायत सुरक्षा टोलीको झाँको झारेका थिए ।
‘यो पृथ्वीसुब्बा गुरुङको जिल्ला हो,एमाले कमजोर छैन । हेर्दै गर्नु चुनाव म जित्छु र एमालेको नेतृत्वमा सरकार बन्ने अवस्था आए आफू उपप्रधानमन्त्रीसहित पावरफूल मन्त्री बन्नेछु,’ भन्दै प्रजिअ बैद्यलाई ठाडै चुनौती दिएका थिए । त्यसको दुई दिनपछि एमालेका गुरुङ तीन हजारभन्दा बढी मतले विजयी बने ।
पृथ्वीसुब्बालाई हराउन एमालेकै केहीले घण्टीमा मत हाल्न दिएको निर्देशनको सुराक पनि उनीसँग थियोे । गुरुङको जीतबाट उदासीन देखिएका बैद्यले त्यसकारण एउटै कार्यक्रममा हुँदा पनि बोलचाल गरेनन् ।
कार्यक्रममा पत्रकार महासंघ लमजुङले १० बुँदे काउलेपानी घोषणापत्र जारी गरेको छ । महासंघले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन,पत्रकारका दुर्घटना तथा स्वास्थ्य बीमा,निशुल्क उपचार प्रबन्ध,ज्येष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ता, आमसञ्चार विकास कोषको स्थापनाका लागि तीन वटै तहका सरकारसँग जोडदार माग गर्ने जस्ता विषय घोषणापत्रमा उल्लेख छ ।
शाखाको सदस्यता शुद्धिकरण र क्रियाशील पत्रकारहरुको सदस्यता सिफारिस अभियानलाई निरन्तरता दिने विषयलाई पनि समेटिएको छ । लमजुङ शाखाले जिल्लाका सामाजिक,साँस्कृतिक, भौतिक विकास,आर्थिक ऐतिहासिक पर्यटकीय, पुरातात्विक,शिक्षा, स्वास्थ्य,कृषिलगायत क्षेत्रका सूचनालाई थप खोजमूलक ढंगबाट मिडियामार्फत मूल प्रवाहीकरण गराउन पहलकदमी लिने घोषणासमेत गरिएको छ ।
ग्रामीण पर्यटकीय होमस्टे,लमजुङ दरबार, पुरानकोट गढी थुम्कीडाँडास्थित दलित समुदायद्वारा सञ्चालित होमस्टे,दलित शिल्पी संग्रहालय र समग्र गाउँशहर क्षेत्रको प्रवर्धनमा महासंघ र समग्र सञ्चार माध्यमद्वारा पहल गरिने जनाइएको छ । तर सोही सभामा निवर्तमान अध्यक्ष आश गुरुङ, उपाध्यक्ष शान्ता कमली, सचिव रुद्रहरि ढकाल अनुपस्थित भए । महासंघले नवनिर्वाचित संघ र प्रदेशका माननीयहरुलाई दोसल्ला ओढाएर सम्मानसमेत गरेको थियो ।
-अञ्जनकुमार
टिप्पणीहरू