नयाँ सरकार नआउँदै प्रहरी प्रमुखहरु यताउता
नेपाल प्रहरीले एकैचोटी ठूलो संख्यामा एसपी (प्रहरी उपरीक्षक) को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले आज २३ जना एसपीको काज सरुवाको सूचना निकालेको हो ।
जसअनुसार काठमाडौँ उपत्यका अपराध अनुसन्धान शाखामा दरबन्दी रहेका एसपी दुर्गाराज रेग्मीलाई जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ । सामाखुशीको पहरा गणमा कार्यरत कोमल शाह जिल्ला प्रहरी कार्यालय,पर्सा खटाइएका छन् ।
त्यस्तै,विभिन्न जिल्लाका इञ्चार्ज पनि फेरिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट विश्वराज खड्कालाई जिल्ला प्रहरी कार्यालय धनुषा लगिएको छ । प्रशिक्षण प्रतिष्ठान तालिम शाखाका नरेशराज सुवेदी सर्लाही सरुवा भएका छन् । राजकुमार सिलवालको सिन्धुली सरुवा भएको छ भने सन्तोषसिंह राठोर बाँके पुगेका छन् । सिलवाल यसअघि कर्णाली प्रदेश प्रहरी गण वीरेन्द्रनगरमा कार्यरत थिए । बाँके सरुवा भएका राठौरको दरबन्दी केन्द्रीय विशेष कार्यदलमा रहेको थियो ।
त्यसैगरी,एसपी योगेन्द्रसिंह थापा जिल्ला प्रहरी कार्यालय सुर्खेत र देवेन्द्रबहादुर पाल कैलाली सरुवा भएका छन् । थापा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलबाट त्यता तानिएका हुन् । पाल केन्द्रीय कार्यालयअन्तर्गतको शान्ति सुरक्षा महाशाखामा कार्यरत थिए।
केन्द्रीय कार्यालयको मानव स्रोत विभागमा कार्यरत सन्तोषकुमार भट्टराई ट्राफिक व्यवस्थापन कार्यालय बारा सरुवा भएका छन् । १८ महिना बाँके बसेका पूर्व गुप्तचर श्यामकृष्ण अधिकारी मागबमोजिम सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल पुगेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरमा काजमा रहेका सुधिरराज शाहीको दरवन्दी केन्द्रीय विशेष कार्यदलमा राखिँदा जिप्रका सिन्धुलीबाट सरुवा भएका विमलराज कँडेल पहरा गण सामाखुशी पुगेका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय,मानव स्रोत विभागका नकुल पोखरेलको विशेष सुरक्षा गण तनहुँमा काज सरुवा भएको छ । कर्णाली प्रदेश प्रहरी गण सुर्खेत तानिएका हिराबहादुर पाण्डे कर्णाली प्रदेश कार्यालयमा कार्यरत थिए । सोमेन्द्रसिंह राठौरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा गरिएको छ । उनी यसअघि जिप्रका कैलालीमा कार्यरत थिए ।
त्यस्तै, पर्साका इञ्चार्ज रमेशकुमार बस्नेत, धनुषाका बसन्त रजौरे, झापाका विश्वमणि पोखरेल र सुर्खेतका पदमबहादुर विष्ट पनि काठमाडौँका विभिन्न युनिटमा सरुवा भएका छन् ।
टिप्पणीहरू