दावी स्थायीको, मन्जुर अस्थायीमा
भारतले आगामी छ वर्षपछि राष्ट्र संघीय सुरक्षा परिषदको अस्थायी सदस्य बन्नेतर्फ उम्मेदवारी घोषणा गरेको छ ।
विदेशमन्त्री एस.जयशंकरले सन् २०२८–२०२९ को निम्ति संयुक्त राष्ट्र सुरक्षा परिषद्को अस्थायी सदस्यमा भारतको उम्मेदवारी घोषणा गरेका छन् । निर्वाचित सदस्यको रूपमा भारतको २०२१–२२ को कार्यकाल यही डिसेम्बर ३१ मा समाप्त हुँदैछ ।
न्यूयोर्कमा आयोजित राष्ट्र संघको सुरक्षा परिषद् उच्चस्तरीय बैठकपछि जानकारी गराउँदै उनले भनेका छन्, ‘हामीले काउन्सिलका सदस्यहरूबीच प्रतिआतंकवाद वास्तुकलाको व्यापक सिध्दान्तमाथि सहमति निर्माण गर्ने प्रयास गर्यौं । गत अक्टोबरको अन्त्यमा भारतमा आतंकवाद विरोधी समितिको बैठक पछि जारी गरिएको दिल्ली घोषणालाई सामान्य सुधार गर्ने प्रयास गर्यौं ।’
जयशंकर राष्ट्रसंघीय सुरक्षा परिषदमा भारतको वर्तमान अध्यक्षताअन्तर्गत दुई प्रमुख कार्यक्रमको नेतृत्व गर्न मंगलबार अमेरिका पुगेका हुन् । भारतले सुरक्षा परिषद्को निर्वाचित सदस्यको रूपमा पछिल्लो दुई वर्षमा दोस्रो पटक डिसेम्बर १ मा मासिक पालोको अध्यक्षता ग्रहण गरेको हो ।
भारतले सुरक्षा परिषद्को स्थायी सदस्यको निम्ति विभिन्न प्रयास गर्दै आएको छ । विद्यमान पाँच राष्ट्रको संख्यालाई बढाउनुपर्ने धारणा उसको छ । भारतजस्ता उदीयमान शक्ति राष्ट्रलाई विश्वको सबैभन्दा प्रतिष्ठित संस्थामा स्थायी स्थान नदिए यसको वैधानिकता नै जोखिममा पर्ने तर्क पनि गरेको छ ।
हाल राष्ट्र संघीय सुरक्षा परिषद्को पाँच स्थायी सदस्यमा अमेरिका, बेलायत,फ्रान्स,रुस र चीन छन् ।
टिप्पणीहरू