नेपालबाट फर्किएकी चिनियाँ राजदूत जकार्तामा
नेपालका लागि निवर्तमान राजदूत हौ यान्छी नयाँ जिम्मेवारी सम्हाल्न इण्डोनेसियाको राजधानी जकार्ता पुग्नुभएको छ । उहाँ बेइजिङबाट जकार्तास्थित दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संगठन आसियानमा राजदूतको पदभार ग्रहण गर्न अस्ति त्यहाँ ओर्लनुभएको बताइएको छ ।
यान्छीलाई जकार्ता विमानस्थलमा चिनियाँ राजदूतावास तथा आसियानमा कार्यरत चिनियाँ नियोगका अधिकारीहरुले स्वागत गरेका थिए । जकार्ता पुगेपछि राजदूत हौले आसियानका सबै सदस्य राष्ट्रका समकक्षीहरुसँग सहकार्यका साथ अघि बढ्ने बताउनुभएको छ ।
उहाँको भनाइ छ, ‘आफ्नो कार्यकालमा आसियान राष्ट्रहरुसँग कायम रहेको चीनको मैत्रीपूर्ण सम्बन्धलाई थप कसिलो बनाइने छ, सहयोग र आदानप्रदानको प्रवर्धन गर्दै सम्बन्धलाई नयाँ उचाइमा पुर्याइने छ ।’ उहाँले पाँच विशाल गृहको उदाहरण दिँदै भन्नुभएको छ, ‘शान्ति,आपसी सम्मान,समृध्दि, सौन्दर्य र मित्रतालाई ध्यानमा राखेर आसियानभित्रको सम्बन्धलाई मजबुत बनाइने छ ।’
नेपालमा राजदूत हुनुअघि उहाँ चीनको विदेश मन्त्रालयमा एसियाली विभागका उप महानिर्देशकको जिम्मेवारीमा हुनुहुन्थ्यो । सन् १९७० मा चीनको राजधानी बेइजिङ नजिकैको थिएनचिनमा जन्मनुभएकी हौले लस एञ्जलसमा चिनियाँ महावाणिज्यदूतको जिम्मेवारीमा रहेर र पाकिस्तानस्थित दूतावासमा कूटनीतिक कर्मचारीको रुपमा काम गरिसक्नुभएको छ ।
उहाँ आसियानमा चीनको तर्फबाट नियुक्त सातौं राजदूत हुनुभएको छ । सन् २००८ देखि त्यहाँ चिनियाँ राजदूत नियुक्त हुन थाले पनि सन् २०१२ देखि स्थायी नियोगको रुपमा राजदूतको व्यवस्था गरिएको हो ।
उहाँ नेपालमा राजदूतको कार्यकाल पूरा गरेर दुई महिनाअघि स्वदेश फर्कनुभएको थियो ।
टिप्पणीहरू