बालुवाटारमा महरा,कोटेश्वरमा प्रचण्ड
आगामी सरकार गठनको दाबी पेश गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले एक साताको समय दिएपछि प्रमुख दलका शीर्ष नेताहरुको भेटघाट, दौडधुप र कुराकानीले तीव्रता पाएको छ । प्रधानमन्त्रीमा दावी गर्दै आएका नेपाली काँग्रेस र माओवादी केन्द्रका नेताहरु उक्त दौडमा सबैभन्दा अगाडि देखिएका छन् ।
हालै सम्पन्न निर्वाचनमा गठबन्धन बनाएर प्रतिस्पर्धा गरेका दलहरुबीच नै आगामी सरकारको नेतृत्वको विषय पेचिलो बन्दै हलो अड्कने सम्भावना बढेको छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो आधा कार्यकालको नेतृत्व आफूले गर्न पाउनुपर्ने दलिल पेश गर्दै आउनुभएको छ ।
उता,एमाले पनि यसबीच सत्ता गठबन्धन टुटाउनैपर्ने निश्कर्षका साथ अघि बढेको स्पष्ट हुँदै गएको छ । सोही क्रममा शीर्ष तथा दोस्रो तहका नेताहरुबीच आन्तरिक सम्वादले निरन्तरता पाएको हो ।
हिजो बेलुकी बालुवाटारमा प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महरासँग भेटवार्ता गर्नुभएको बताइन्छ । उहाँहरुबीच साँझ झण्डै ५० मीनेट कुराकानी भएको थियो । बालुवाटारमा भएको कुराकानीमा प्रधानमन्त्री र नेता महरामात्रै सहभागी हुनुभएको स्रोतको भनाइ छ ।
हिजै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग कुराकानी गर्न माओवादी अध्यक्ष दाहाल नेपाल निवास पुग्नुभएको थियो । महरा बालुवाटार जानुअघि दाहाल र नेपालबीच कोटेश्वरमा दिउँसो ३ बजेदेखि पौने ४ बजेसम्म कुराकानी भएको हो ।
टिप्पणीहरू