सुकुम्वासीका नाममा सिंहदरबारभित्र बिशेष सल्लाह

सुकुम्वासीका नाममा सिंहदरबारभित्र बिशेष सल्लाह

सिंहदरबारमा सुकुम्बासी समस्या समाधानको निम्ति बैठक बसेको छ । हिजो साँझ ५ बजे एक घण्टा सम्बन्धित निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा बैठक बसेको हो । शहरी विकास मन्त्री मेटमणि चौधरीको अध्यक्षतामा बैठक बसेको थियो । काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र साह,गृहसचिव विनोदप्रकाश सिंह,शहरी विकास सचिव सुरेश आचार्य,काठमाडौंका सिडिओ  घनश्याम उपाध्याय,प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहरा पनि बैठकमा सहभागी थिए । 

त्यसैगरी अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका उद्धव तिमिल्सिना,काठमाडौं उपत्यका विकास प्राधिकरणकी प्रमुख जानुका ढकाल,प्रोजेक्ट हेड,सहसचिवहरुले हिजोको बैठकमा भाग लिए । त्यति धेरै जनाको सहभागितामा बसेको बैठकले के निर्णय गर्यो त ? जनआस्थाको जिज्ञासामा एक जना सचिवले बताए, ‘राजधानीको अव्यवस्थित बसोबास विशेषगरी नदी किनारमा ओगट्नेलाई कसरी व्यवस्थापन गर्ने भन्ने उपायको खोजीमा जुटेका थियौं । सबैले आफ्ना कुरा राखे । सोलुसन आएन । त्यसैले शहरी विकास, भूमिसुधार,गृह,भूमि आयोग तथा काठमाडौंका मेयर बसेर छलफल गर्ने भन्ने निश्कर्ष निकालिएको छ ।’

"उनले दुई पटक सूचना निकालेको कुरो कोट्याए पनि सुकुम्बासीको यकिन संख्याबारे जीब्रो चपाएको नगर विकासका एक जना कर्मचारीले बताए । "

तर,राजधानीका बागमती,विष्णुमति, मनोहरा,इच्छुमति, धोबीखोला नदी किनारमा कति सुकुम्बासी छन् भन्ने निर्क्यौल हालसम्म गरिएको छैन । बाग्मती सभ्यता समितिका उद्धवले आफूसँग त्यसको डाटा रहेको बताउँदै आए पनि हिजोको बैठकमा प्रस्तुत गर्न सकेनन् । उनले दुई पटक सूचना निकालेको कुरो कोट्याए पनि सुकुम्बासीको यकिन संख्याबारे जीब्रो चपाएको नगर विकासका एक जना कर्मचारीले बताए ।  

सुकुम्बासीप्रति निकै आक्रामक देखिएका मेयर बालेनले बैठकमा समस्या समाधान छिटो गर्नुपर्यो भनी आफ्नो कडा अडान राखेको बताइन्छ । मेयर र काठमाडौं महानगरपालिकाले अनौपचारिक रुपमा नदी किनारमा रहेकामध्ये अधिकांश वास्तविक सुकुम्बासी नभएको दाबी गर्दै आएका छन् । उनीहरुमध्ये अधिकांश नक्कली रहेका र त्यहाँका घर तथा छाप्रा भाडामा लगाइएको विषयले हिजोको बैठकमा धेरै समय लिएको थियो ।

टिप्पणीहरू