यस्ता भेटघाटले के दिन्छ अर्थ ?

यस्ता भेटघाटले के दिन्छ अर्थ ?

राष्ट्रपति विद्यादेवी भण्डारीले एक साताको समय दिएर प्रधानमन्त्रीमा दावी पेश गर्न आह्वान गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न पक्षीय छलफललाई तीब्रता दिनुभएको छ । छैठौँ पटक प्रधानमन्त्री बन्ने दौडमा रहनुभएका उहाँले बहुमत जुटाउन पार्टीभित्र र बाहिर भेटघाट र छलफल बढाउनु भएको हो । 

संसदमा कुनै पनि दलको एकल बहुमत नभएकाले गठबन्धनकै सरकार बन्ने निश्चित छ । राष्ट्रपतिको आह्वानमा पनि संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा दावी पेश गर्न भनिएको छ । जसका कारण प्रधनमन्त्रीमा दावी पेश गर्ने तयारीमा रहनुभएका देउवाले पार्टीको इतर खेमा र गठबन्धनका नेताहरुलाई पालैपालो भेटघाट गरिरहनु भएको छ । 

पहिलो खेपमै प्रधानमन्त्री दावी गरिरहनुभएका गठबन्धनका अर्का शीर्ष नेता पुष्पकमल दाहाल प्रचण्डलाई दैनिकजसो भेटिरहनु भएका देउवा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि नियमित संवादमा हुनुहुन्छ । त्यस्तै, गठबन्धनभित्र कुरा नमिलेको अवस्थामा विकल्पको तयारीसमेत गर्नुभएका देउवाले त्यसअनुसार गठबन्धन बाहिर पनि भेटघाट र छलफल चलाइरहेको बालुवाटार स्रोतले बताएको छ । 

यसैबीच प्रधानमन्त्री देउवाले हिजो साँझ पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई बालुवाटार बोलाएर गोप्य छलफल गर्नुभएको छ । माओवादी अध्यक्ष प्रचण्डसँग नियमित भेट भैरहेको अवस्थामा महरालाई छुट्टै बालुवाटार बोलाएर देउवाले कुराकानी गर्नुभएको हो । 

महरा बालुवाटार पुग्नुअघि देउवाले संस्थापन इतर खेमाका नेता डा. रामशरण महतसँग आधा घण्टा कुराकानी गर्नुभएको थियो । लगत्तै त्यही छलफलमा महरा पनि मिसिनुभएको हो । तीन नेताबीच अपराह्न पौने चारदेखि एक घण्टा छलफल भएको स्रोतले बताएको छ ।

टिप्पणीहरू