देउवाविरुद्ध पार्टीभित्रै साझा उम्मेदवार
नेपाली काँग्रेस संसदीय दलको नेतामा संस्थापन इतर समूहबाट महामन्त्री गगन थापा उम्मेदवार हुने भएका छन् । बिहान होटल एम्बेस्डरमा बसेको गुटको बैठकले नेता डा. शेखर कोइरालाको प्रस्तावमा थापालाई उम्मेदवार बनाउने सहमति जुटाएको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार थापालाई उम्मेदवार बनाउने सहमति भैसकेको र केहीबेरमा सार्वजनिक गर्ने तयारी छ । चुनावअघि नै आफूलाई भावी प्रधानमन्त्री घोषणा गरेका थापा र १४ औँ महाधिवेशनमा सभापति हारेका इतर समूहका नेता कोइराला दुवै जना दलको नेता बन्ने दौडमा थिए । आफ्नै गुटभित्र दुई नेता आकांक्षी भएपछि साझा उम्मेदवार खडा गर्न शेखर-गगन समूह हिजोदेखि आन्तरिक छलफलमा छ ।
हिजो विभिन्न चरणमा भएका छलफलले निष्कर्ष निकाल्न नसकेपछि नेताहरु आज पुन: बसेका हुन् । सहमतिअनुसार अब सभापति शेरबहादुर देउवाविरुद्ध इतर गुटबाट थापा उम्मेदवार बन्नेछन् । कांग्रेसको संसदीय दलको अंकगणित भने थापा अनुकूल छैन । १५ औं महाधिवेशनमा शेखरलाई फेरि उठाउने भागवण्डा मिलाएर बल्ल गगनसङ्ग सहमति जुटेको हो ।
टिप्पणीहरू