खुमलटार र बालुवाटारमा बैठकै बैठक

खुमलटार र बालुवाटारमा बैठकै बैठक

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र आगामी प्रधानमन्त्रीमा दावी गर्नुभएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा राजनीतिक भेटघाट र कुराकानीको क्रम बाक्लिएको छ । दुबै स्थानमा डाकिएको तारन्तारको बैठकले राजनीतिक सरगर्मी तात्दै गएको अनुमान गर्न थालिएको छ । 

उता,एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वरमा पनि भेटघाट बाक्लै हुने गरेको छ । कतिपय औपचारिक भेटघाट शीर्ष नेताहरुले पार्टी मुख्यालयमा समेत गर्ने गरेका छन् । 

सोही क्रममा आज बिहान बालुवाटारमा प्रधानसेनापति प्रभुराम शर्माले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच बिहान १० बजेदेखि झण्डै आधा घण्टा कुराकानी भएको स्रोतले पुष्टि गरेको छ । त्यसअघि आजै बिहान साढे ९ बजेदेखि प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाँणबीच पनि बालुवाटारमा त्यत्ति नै समय भेटवार्ता भएको थियो ।

उता अध्यक्ष दाहालको निवास खुमलटारमा आज बिहान नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्षसँग भेटवार्ता गर्नुभएको थियो । त्यसपछि पुनः डा.भट्टराईसँगै नेसपा नेता महेन्द्रराय यादव र माओवादी केन्द्रका नेता तथा प्रवक्ता कृष्णबहादुर महराबीच बिहान साढे ९ बजेदेखि करिब डेढ घण्टा कुराकानी भएको बताइन्छ । पछिल्ला दिनमा भएका अधिकांश भेटघाट राजनीतिक जोडघटाउ र आगामी सरकार गठनमा नेतृत्वको विषयलाई लिएर भएको सहज अनुमान लगाउन सकिन्छ ।

टिप्पणीहरू