काँग्रेस सभापतिविरुद्ध महामन्त्री भिड्ने, कसको सम्भावना कति ?

चुनावमार्फत संसदीय दलको नेता टुंगो लगाउने तयारीसँगै नेपाली काँग्रेसभित्रको दुई समूह आमने–सामने हुने भएको छ । दलको नेताका लागि संस्थापनतर्फबाट सभापति शेरबहादुर देउवा र इतर गुटबाट महामन्त्री गगन थापाले प्रतिस्पर्धा गर्ने भएका हुन् । 

संस्थापनबाट सभापति देउवा सर्वसम्मत उम्मेदवार भए पनि इतर गुटमा भने दुई जना आकांक्षी थिए । गत वर्षको १४ औं महाधिवेशनमा सभापतिमा पराजित डा. शेखर कोइराला र उनकै प्यानलबाट महामन्त्री जितेका थापा दलको नेतामा दावेदार रहँदा सो समूहलाई साझा उम्मेदवारी दिन सकस परेको थियो । तर, हिजोदेखि भएका चरण–चरणका छलफलपछि आज महामन्त्री थापाको नाम टुंगो लागेको हो ।

अहिले इतर समूहको बैठक अनामनगरस्थित एक होटलमा चलिरहेको छ । बैठकपछि कोइरालाले थापाको नाम दलको नेताको उम्मेदवारमा प्रस्ताव गर्ने तयारी छ । उनले पार्टी रुपान्तरणसँगै पुस्तान्तरणका लागि थापालाई दलको नेतामा प्रस्ताव गरेको बताएका छन् ।

बलियो अवस्थामा रहेका प्रधानमन्त्री तथा पार्टी सभापति देउवाविरुद्ध भिड्न साझा उम्मेदवार तय गर्नुपर्ने दबाबमा रहेको शेखर–गगन गुट हिजोदेखि आन्तरिक छलफलमा थियो । हिजो दिनभर भएका विभिन्न चरणका छलफलमा सहमति जुट्न नसकेपछि आज बिहानैदेखि दुई आकांक्षी कोइराला र थापा संवादमा बसेका हुन् । बिहान लाजिम्पाट र सिंहदरबारमा बसेका दुईवटा बैठकले अन्ततः सर्वसम्मत रूपमा थापाको नाममा सहमति जुटाएको हो ।

तर, देउवाविरुद्ध इतर गुट एकजुट हुँदा पनि संसदीय दलमा संस्थापन पक्ष नै हावी देखिन्छ । ८९ जना सांसद रहेको कांग्रेसमा दलको नेता बन्न ४५ मत चाहिन्छ । तीमध्ये ५५ जना सांसद संस्थापन निकट छन् भने इतर खेमामा ३४ जना छन् । तर, आजको भेलामा ३८ जना सांसद सहभागी भएको इतर पक्षको दाबी छ । संस्थापनकै युवा सांसदहरुले पनि गगनलाई मत हाल्ने सो पक्षका नेताहरुको विश्वास छ । 

कांग्रेसको विधानमा दलको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था छ । संसद्को सबैभन्दा ठूलो दलका हैसियतमा कांग्रेसले नै सरकारको नेतृत्व गर्ने सम्भावना रहेकाले पनि दलको नेताका लागि चर्को प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 

कांग्रेसले दलको निर्वाचनको निम्ति तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समितिले आज उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका बनाएको छ ।

टिप्पणीहरू