राप्रपाले आज नेता छान्ने,लिङ्ग्देनमाथि धवलको चुनौती

राप्रपाले आज नेता छान्ने,लिङ्ग्देनमाथि धवलको चुनौती

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज संसदीय दलको नेता छान्ने तयारी गरेको छ । त्यसको निम्ति आज बैठक बोलाइएको बताइएको छ । बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनलाई सर्वसम्मत संसदीय दलको नेता चयन गर्ने सम्भावना रहेको बताइरहँदा उनीविरुद्ध उम्मेदवारी हाल्ने कसरत भइरहेको स्रोतको दाबी छ । बाँकेबाट निर्वाचित सांसद तथा राप्रपा महामन्त्री धवल समशेर राणाले अध्यक्षविरुद्ध उम्मेदवारी दिने पार्टीका केही नेतासमक्ष बताइसकेका छन् ।

माहौल राजेन्द्रको पक्षमा देखिए पनि राजनीतिक उचाइ बढाउन राणाले उम्मेदवारी दिन लागेको पार्टी नेताहरुको बुझाइ छ । ‘तर अधिकांश सभासद् उनको पक्षमा देखिँदैनन्,’ एक जना प्रत्यक्ष निर्वाचित सांसदले भने ।

आफूलाई राजावादीको रुपमा प्रस्तुत गर्दै आएको राप्रपालाई नयाँ सरकार गठनसँगै राजनीति अघि बढाउन गाह्रो हुने विश्लेषण गरिएको छ । राजतन्त्रको वकालत गर्दै आएको पार्टीले गणतन्त्रलाई संस्थागत गर्ने मियोको रुपमा लिइने राष्ट्रपतिको चुनावमा भाग लिँदैछ । संघीयताको विरोध गरेको पार्टीले प्रदेश सभाको आन्तरिक चुनाव र सरकार गठनमा पनि सहभागी हुने निश्चित छ ।

पार्टीले भन्दै आएको र अहिले देखाएको व्यवहार उल्टो भएन र ? भन्ने जिज्ञासामा केन्द्रीय समितिका एक जना सदस्यले भने, ‘वर्तमान संविधानसँग सहकार्य गर्दै आफ्नो एजेण्डा जनतासमक्ष पुर्याएर जनताको बलमा राजसंस्था, हिन्दु राष्ट्र कायम गर्ने, प्रदेश संरचना खारेजको एजेण्डा अघि बढाउने भनिएको हो । माओवादीको शब्द प्रयोग गर्ने हो भने ढाडमा टेकेर टाउकोमा हान्ने भन्ने जस्तै हो । तर, हामी त्यो शब्द प्रयोग गर्न चाहँदैनौं ।’

वर्तमान संविधानको व्यवस्थाको पूर्ण पालना गरेर जनमतबाट आफ्ना एजेण्डा परिवर्तन गराउने लक्ष्य र नीति राप्रपाको भएको उनको भनाइ छ । तोकिएको आवधिक चुनावमा भाग लिने र जनतालाई आश्वस्त पारेर जनमतबाटै सबै परिवर्तन गर्ने सम्भावना रहेको राप्रपाको ठहर छ ।

नयाँ सरकार गठनको निम्ति आन्तरिक रुपमा सबैसँग समान ढंगले कुरा गरिएको राप्रपाका नेताहरु बताउँछन् । यसबीचमा भएका कतिपय कुरा बेला नभएकाले सबै बाहिर भन्न आवश्यक नदेखिएको उनीहरुको भनाइ छ । सम्भवतः संसदीय दलको नेता चुनिएपछि आजबाट त्यससम्बन्धी छलफलको क्रममा तीव्र रुपमा अघि बढ्ने उनीहरुको विश्वास छ ।

टिप्पणीहरू